तरकारी खेतीलाई प्राथमिकता दिएका जलजलाका कृषकलाई यातायातको असुविधाका कारण समस्या भएको हो ।
उत्पादित तरकारी बजारसम्म ढुवानी गर्न समस्या भएको शालिजाका कृषक छवि भुसालले बताए । ‘उचित मूल्य नपाउँदा दुःख र मेहनतअनुसारको आम्दानी हुन सकेको छैन’, चार रोपनीमा तरकारी खेती गरेका भुसालले भने, ‘बजार व्यवस्थापन नहुँदा कृषकको परिश्रम दुःखमा सीमित भएको छ ।’
बजार टाढा हुनु, यातायात सेवामा पहुँच नहुनु र सडकको कमजोर अवस्थाका कारण तरकारीको बजार व्यवस्थापनमा समस्या भएको हो । उत्पादन पर्याप्तमात्रामा भए पनि बजारको अभाव र उचित मूल्य नपाएको कृषकले बताएका छन् ।
शालिजामा आलु, बन्दागोभी, काउली, साग, मुला, गाजर, धनियाँ, गोलभेँडालगायत तरकारी खेती हुने गरेको छ । करिब १५० कृषक तरकारी खेतीमा आबद्ध छन् । सडक पुगे पनि यातायातका साधनमा पहुँच नहुँदा कतिपय कृषकले डोकोमै बोकेर तरकारी बजार पुर्याउन बाध्य छन् ।
गाडीबाट तरकारी बजार पुर्याउँदा कच्ची र जीर्ण अवस्थाको सडकका कारण तरकारीको भन्दा बढी ढुवानीमा खर्च हुने गरेको छ । कुश्मा, बागलुङ, बेनी र पोखरा शालिजाको तरकारीको बजार हो । सडक स्तरोन्नति गरी नियमित सवारी सन्चालनको व्यवस्था मिलाउनुपर्ने कृषक केदारनाथ भुसालले बताए । रासस









प्रतिक्रिया दिनुहोस्