३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, ‘प्रत्यक्ष’ शल्यक्रिया चल्दै


0
Shares

‘सार्क फेडेरेशन अफ अंकोलोजिस्ट नेपाल’को आयोजनामा विश्वका विभिन्न देशका विशेषज्ञ चिकित्सकहरुको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको आयोजक समितिका सचिव डा.उमेश नेपालले जानकारी दिए ।

बिहान १० बजेदेखि सुरु भएको सम्मेलनमा अहिले ‘लाइभ’ शल्यक्रिया चलिरहेको डा.नेपालले जानकारी दिए ।

चितवनको क्यान्सर अस्पतालको शल्यक्रिया कक्षमा क्यान्सरको शल्यक्रिया भइरहेको र प्रविधिमार्फत सम्मेलन हलमा विज्ञहरुले प्रत्यक्षरुपमा अध्ययन र अवलोकन गरिरहेका छन् ।

शल्यक्रियाको पद्धतिबारे प्रत्यक्ष हेरेर अनुभव आदानप्रदान हुने विज्ञहरुले बताएका छन् । दुई ओटा हलमा सुरु भएको सम्मेलनको अर्काे हलमा भने भारतका विज्ञ प्राध्यापक डा.राजेश चन्दवानीले आफ्नो अध्ययन र अनुभवको विषयमा कार्यपत्र प्रस्तुत गरी सो विषयमा छलफल भइरहेको डा.नेपालले बताए ।

बिहीबार दिउँसो दोस्रो सत्रमा विभिन्न विज्ञबाट ६ ओटा कार्यपत्र प्रस्तुत भई छलफल हुने कार्यक्रम रहेको स्थानीय आयोजक समितिका संयोजक डा.भोलाप्रसाद रौनियारले जानकारी दिए ।

यही कात्तिक १८ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न देशका गरी ३०० विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ । जसमा २० जना विज्ञ विदेशबाट सहभागी भएका छन् ।

सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलंका, बंगलादेश, सिंगापुर, क्यानडा, टर्की र अमेरिकाका विशेषज्ञहरु सहभागी रहेको डा.रौनियारले बताए ।

सम्मेलनमा देशविदेशमा क्यान्सर रोगको उपचार पद्धतिका विषयमा अनुभव आदानप्रदान गरी विश्वमा भएका नयाँ उपचार प्रविधिका बारेमा जानकारी आदानप्रदान हुने जनाइएको छ ।

राजधानी बाहिर सम्मेलन पहिलोपटक चितवनमा आयोजना भएको हो । सम्मेलनको औपचारिक उद्घाटन भोलि शुक्रबार क्यान्सर रोग लागेर निको भएकी अभिनेत्री मनिषा कोइरालाले गर्ने जनाइएको छ । रासस