३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


दुई दशकदेखि बन्द मिसन अस्पताल सन्चालन गर्न माग


13
Shares

विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ हुवासमा रहेको अस्पताल करिब दुई दशकदेखि सन्चालनमा आउन सकेको छैन ।

सशस्त्र द्वन्द्वका क्रममा असुरक्षाका कारण बन्द भएको अस्पताल सन्चालनमा नआउँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् ।

विसं २०५० मा स्थापित १५ श्यैयाको उक्त अस्पताल सन्चालनमा कसैले चासो नदिएको गाउँलेले बताएका छन् । माओवादी जनयुद्धताका २०५८ सालदेखि अस्पताल बन्द भएको हो ।

स्थापना भएको सात वर्षसम्म सन्चालनमा आएको अस्पतालमा दुई अमेरिकी र चार नेपाली चिकित्सक कार्यरत थिए । अस्पतालबाट पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका दुई दर्जन बढी गाविसका एक लाख ५० हजार सर्वसाधारण लाभान्वित थिए । व्यक्तिको १५ रोपनी जग्गामा ‘एड भान्टिस्ट फन्ट मिसर’ नामक अमेरिकी संस्थाले रु एक करोड लगानी गरेर निर्माण गरेको उक्त अस्पतालका भवन र फर्निचर अहिले बेवारिसे बनेका छन् ।

अस्पताल भवन र आवास गृहमा लगाइएको टायल फुटेपछि चुहिन थालेको छ । समयमै मर्मत नगरे भवन भत्कने निश्चित रहेको उक्त अस्पतालका पूर्व रजिष्ट्रार गंगा न्यौपानेले बताए । ‘द्वन्द्वकालमा माओवादीको डरले गर्दा अमेरिकन सरकारले आफ्ना सबै चिकित्सकलाई फिर्ता बोलाया’, उनले भने ‘अमेरिकन चिकित्सक फिर्ता गएपछि त अस्पताल नै बन्द भयो ।’

अस्पताल सन्चालनमा सरकारले चासो नदिँदा आफूहरु समस्यामा परेको स्थानीयवासी समाजसेवी लालबहादुर प्रधानले बताए । पाल्पाको मिसन अस्पतालको अवधारणानुसार निर्मित सो अस्पताल बन्द भएपछि सर्वसाधारण उपचारका लागि कास्की, स्याङ्जा, रुपन्देही, पाल्पा जान बाध्य भएका छन् । सबै किसिमका बिरामीको जाँच गर्ने गरिएकाले अस्पतालमा दैनिक ५० देखि सय जनासम्म बिरामी उपचारका लागि आउने गर्थे ।

हुवास बजार जिल्लाको प्रमुख व्यापारिक नाका भए पनि उक्त स्थानमा सुविधासम्पन्न स्वास्थ्यचौकी स्थापना भएका छैनन् । यहाँ उपस्वास्थ्य चौकीमात्र छ । ‘अस्पताल सन्चालन गर्न सबैसँग आग्रह ग¥यौंँ’, स्थानीयवासी मित्रलाल बस्यालले भने, ‘सन्चालनमा कसैले चासो दिएनन् ।’

अस्पातललाई सरकारले सन्चालनमा ल्याउन सके आफूहरुले महँंगो रकम तिरेर उपचार गर्न अन्यत्र जानुपर्ने समस्या हटेर जाने बस्यालले बताए । महँंगो रकम खर्च गरेर निर्माण गरिएका सबै भवन जीर्ण बनेर भत्किन लाग्दा समेत पुनःनिर्माण र सन्चालनमा कसैको ध्यान पुगेको छैन ।

गाउँलेले आफूहरुले स्थानीय प्रशासन र राजनीतिक दलका प्रतिनिधिसँंग अस्पताल सन्चालनका लागि पहल गरिदिन आग्रह गरे पनि कसैले चासो नदिएको बताएका छन् ।

पछिल्लो समय हुवासमै इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा तथा सडक सुविधाको राम्रो पहुँच पुगेकाले सुविधासम्पन्न अस्पतालको मात्रै कमी रहेको स्थानीयवासीको भनाइ छ । रासस