तर, भक्तपुरको व्यासीमा रहेका भूकम्पपीडितको छाप्रामा मंगलबारसम्म कुनै उम्मेदवार पनि पुगेका छैनन् । न त उनीहरुलाई चुनावको कुनै माहौलले नै छोएको छ ।
देश नै चुनावमय भएको बेला भक्तपुर व्यासीका भूकम्पपीडितका लागि भने अघिल्ला हिउँदैझैं यस हिउँदको जाडो कसरी कटाउने भन्ने चिन्ता थियो । पाल र जस्ताको अस्थायी छाप्रामा जीवन गुजार्दै आएका उनीहरुको पीर न राज्यले बुझ्यो न त कुनै दल विशेषले ।
२०७२ वैशाख १२ गतेको भूकम्पबाट खुला आकाशमुनि पुगेका उनीहरुका लागि चुनाव आउनु र नआउनुसँग कुनै चासो पनि देखिएन ।
मंगलबार हाम्रो टोली यहाँ पुग्दा उनीहरुको टहरा सधैंझैं सुनसान थियो । न कुनै पार्टीको झन्डा, न त कुनै चुनावी प्रचार सामग्री । न त चुनावी माहोल नै ।
बरु भर्खरै पलाउन थालेको जाडोबाट बच्न केही वृद्धा घामको पारिलोमा जीउ सेकाइरहेका थिए भने कोही आफ्नै कामको धुनमा ।
चुनावका बेला आकाशको तारा नै झारिदिने गुलिया सपना बाँडिरहेका दल र तिनका उम्मेदवारलाई नागरिकका यस्ता पीडा सुन्न फुर्सदै कहाँ छ र ?
दुई वर्षअघिको भूकम्पको मार खेपिरहेका पदमबहादुर कार्की यही साघुँरो टहरामा अनेक समस्या झेल्दै जीवन जीउँदैछन् ।
तीन/तीन वर्षको वर्षात्, कठोर गर्मी, हड्डी नै हल्लाउने हिउँदका कठीन दिन वृद्धवृद्धा, कलिला नानी र अशक्तहरुले कसरी बिताए कसले पो चिहायो र ? त्यसैले त कार्की भन्छन्–‘देशमा सरकार त धनी र हुनेखानेका लागि न भयो ।’
सरकारले अनुदान दिने भनेर लोभ्याएपछि त्यसैको आशमा भूकम्पपीडित त्यही थोत्रा पाल र जस्ताको शरणमा छन् । स्थानीय सरकार बनेपछि त के–के न हुन्छ भनेर दलहरुले लोभ्याए । भोट मागे र लिएर पनि गए ।
तर, त्यसपछि उनीहरुको दुःखकाबारेमा कोही एक बचन सोध्नसमेत आएन, ७५ वर्षीया वृद्धा सानुमाया शाही गुनासो गर्छिन् ।
भोट हाल्न जान त पटक्कै मन छैन तर आफूले नहालेपनि चुनाव हार–जितमा फरक पर्ने होइन । दल, तिनका उम्मेदवार र सरकार कतैप्रति पनि विश्वास छैन उनीहरुलाई । आशाको त्यान्द्रो नै टुटेको छ ।
सरकारले भूकम्पपीडितलाई घर बनाउन भन्दै दिएको पहिलो किस्ताले त भत्किएको घरको माटो मिल्काउन पनि पुगेन । घरको जग नउठाएसम्म अर्को किस्ता नदिने सरकारी नियम छ ।
यही माथापच्छीमा पीडित तेस्रो हिउँद पनि कटाउन बाध्य छन् । आश त छैन । तैपनि बाससम्म बनाउने व्यवस्था गरिदिए आभारी हुने उनीहरु बताउँछन् ।










प्रतिक्रिया दिनुहोस्