Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्नु परे पूर्वअनुमति लिन आयोगको आग्रह


0
Shares

निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा विभिन्न निकायका पदाधिकारी सहभागी बैठकले निर्वाचन प्रचार–प्रसारको प्रयोजनमा विदेशी नम्बर प्लेटका सवारी–साधनको प्रयोगलाई नियन्त्रण गर्ने सम्बन्धमा यस्तो निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रचार–प्रसारको प्रयोजनमा विभिन्न राजनीतिक दल र उम्मेदरवारले प्रयोगमा ल्याउने विदेशी नम्बर प्लेटका सवारी–साधनको नियमन, नियन्त्रण र व्यवस्थापनका लागि बैठकले गृह मन्त्रालय, भन्सार विभाग र यातायात व्यवस्था विभागलाई पत्राचार गर्ने निर्णय गरेको छ ।

यसैगरी, राजनीतिक दल वा उम्मेदवारले चुनाव प्रचार–प्रसारमा विदेशी नम्बर प्लेटका सवारी–साधन प्रयोग गर्दा निर्वाचन आचारसंहिताको उल्लंघन नहुने गरी तोकिएको संख्यामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट पूर्वअनुमति लिएरमात्र सन्चालन गर्न दिने व्यवस्था आयोगले गरेको छ ।

यस सम्बन्धमा मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, भन्सार कार्यालय र यातायात व्यवस्था कार्यालयलाई आपसी समन्वयमा काम गर्न निर्देशन दिइएको छ ।

बैठकले विदेशी नम्बर प्लेटका सवारी–साधन प्रयोग गर्न प्राप्त अनुमतिपत्र सम्बन्धित सवारी–साधनको अग्रभागमा स्पस्टरूपमा देखिनेगरी राखेरमात्र सन्चालन गर्ने व्यवस्था मिलाउने र अनुमति प्राप्त गरी सन्चालन गरे/नगरेको सम्बन्धमा कडा निगरानी जाँचको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय गरेको छ । रासस