
केही दल कार्यकर्ता भेटघाट र रणनीतिक योजना बनाउन तल्लिन छन् त केही भोट माग्दै मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
काठमाडौंको क्षेत्र नम्बर–६ मा नेपाली कांग्रेसका उम्मेदवार प्रचारमा उत्रिसकेका छन् भने माओवादी केन्द्र उम्मेदवार रणनीतिक योजना र आन्तरिक बैठकमा केन्द्रित छन् ।
मंसिर २१ को दिन जतिजति नजिकिँदैछ, राजनीतिक दल र तिनका उम्मेदवारको धपेडी पनि बढ्न थालेको छ ।
चुनावको रन्कोमा परेका उम्मेदवार र नेता–कार्यकर्ताहरु काठमाडौंको चिसिँदो मौसमकैबीच बिहानैदेखि चुनावी प्रचारमा उत्रन थालेका छन् । बढ्दो चिसोले पनि मतका लागि मतदाताको दैलो पुग्न कुनै अवरोध गर्न सकेको छैन ।
काठमाडौं क्षेत्र नम्बर–६ मा पनि चुनावी रौनक रोचक बन्दै गएको छ । यहाँ लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसले रक्षामन्त्रीसमेत रहेका नेता भीमसेनदास प्रधानलाई उतारेको छ ।
प्रधान काठमाडौंका रैथाने हुन् भने उनलाई टक्कर दिन आएका छन्, रोल्पाका माओवादी नेता झक्कुप्रसाद सुवेदी ।
यद्यपि, सुवेदीले २०६४ सालको संविधानसभाको चुनावमा काठमाडौं–२ बाट एमाले नेता माधवकुमार नेपाललाई हराएर चर्चा बटुलेका थिए ।
शान्ति–प्रक्रियामा आएलगत्तै भएको निर्वाचनको राप र तापकाबीच एमाले नेता नेपाललाई हराएका भएपनि यसपटक सुवेदीले प्रधानलाई छेक्न सक्लान् ? प्रश्न उब्जेको छ ।
कांग्रेस नेता प्रधान भने चुनाव सजिलै जित्ने आत्मविश्वास व्यक्त गर्दछन् ।
रैथाने, विकासप्रेमी र जनताको सुख–दुःखमा सधैं साथ दिएकाले जित सुनिश्चित भएको तर्क प्रधानको छ । कांग्रेसीहरुले सुवेदीलाई ‘पाहुना’ उम्मेदवारको संज्ञा दिएका छन् ।
चुनावी प्रचारमै पनि अगाडि उत्रिएको कांग्रेस मतदाताबाट राम्रो प्रतिक्रिया पाएको भन्दै हौसिएको छ ।
माओवादी उम्मेदवार झक्कु सुवेदीको ‘झ्वाँक’ पनि कम्तीको छैन । चुनौतीपूर्ण भएपनि सामना गरेर विजयी बन्ने दाबी उनको छ । पार्टी भेलामा भेटिएका सुवेदीले चाँडै नै मतदातासमक्ष पुग्ने बताए ।
काठमाडौं–६ को विकासका लागि थुप्रै सपना र योजना रहेको भन्दै सुवेदीले कम्युनिष्टहरु सत्तामा हारे पनि विचारमा सुदृढ भएकाले यसपटक बर्चस्व कायम गर्ने दाबी गरे ।
संविधानसभाको पहिलो निर्वाचनमा माओवादीले जितेको यस क्षेत्रमा दोस्रो चुनावमा प्रधानले नै बाजी मारेका थिए ।
त्यसबेला दोस्रो स्थानमा रहेको एमालेले यसपटक क्षेत्र माओवादीलाई जिम्मा लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्