७ असार २०८२, शनिबार | Sat Jun 21 2025


धनुषा–३ मा को बलियो ? महासेठले महतोलाई सघाउने ?


0
Shares

यस क्षेत्रका प्रभावशाली नेता नेपाली कांग्रेसका विमलेन्द्र निधि र राजपा नेपालका राजेन्द्र महतोले उम्मेदवारी दिएसँगै कसले बाजी मार्ला भनेर चौतर्फी चर्चाको विषय बनेको छ ।

निर्वाचनका सन्मुख मतदातालाई फकाउन कांग्रेसका नेता निधि र राजपाका नेता राजेन्द्र महतो दिनरात खटिएका छन् । बिहान उठेदेखि अबेर रातिसम्म दुवै नेताको प्रचार–प्रसारका कार्यक्रम चलिरहेको छ ।

दुवै नेता जित आफ्नो पक्षमा पार्न आफ्नो क्षेत्रबाहेक अन्य कुनै क्षेत्रमा जान सकेका छैनन् । महतो प्रतिस्पर्धी नहुँदा निधिलाई त्यति गाह्रो थिएन । तर, उनको उम्मेदवारीले कडा प्रतिस्पर्धा हुने आँकलन सबैले गरिरहेका छन् ।

धनुषा–३ मा मुस्लिम मतदाताको पनि महत्वपूर्ण भूमिका हुने भएकाले त्यो मत तान्न पनि दुवै नेताको जोडतोड छ ।

यसअघिका चुनावमा धनुषा–३ बाट विमलेन्द्र निधिले लगातार दुईपटक र एकपटक धनुषा–४ बाट जितेका थिए । पछि ४ बाट कृष्णप्रताप मल्लसँग पराजित भएपछि उनले क्षेत्र परिवर्तन गरेका हुन् ।

पछिल्लोपटक सडक निर्माणकार्यमा निकै प्रशंसा बटुलेका उनलाई स्थानीयवासीले ‘विकास पुरुष’कोरूपमा प्रचार–प्रसार गरिरहे पनि परिस्थिति सहज छैन ।

पहिलो संविधानसभाको चुनावमा एमाले नेता हरिदेव मण्डलसँग करिब दुई हजारको मतान्तरले विजय भएका निधि २०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेकी जुली महासेठसँग एक हजार ४९३ मतको मतान्तरले विजयी भएका थिए ।

यसपालिको चुनावमा वामपन्थी गठबन्धनले कमजोर उम्मेदवारलाई उठाएको छ । रामसिंह यादव सो क्षेत्रका लागि नयाँ अनुहारमात्रै होइन, जनताको प्रत्यक्ष राजनीतिमासमेत नौलो अनुहार बनेका छन् ।

स्रोतकाअनुसार रघुवीर महासेठ र राजेन्द्र महतोबीच गठबन्धन भएको र महासेठले नेता महतोलाई सहयोग गर्ने आन्तरिक तयारी भइरहेको चर्चामा आएको छ ।

सर्लाही छोडेर धनुषा आएका महतोलाई जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अलोकप्रियताले पनि समस्यामा पारेको चर्चा सुनिन्छ ।

स्थानीय तहको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा पाँच लाख ८८ हजार ८७२ मतमध्ये ३ को ‘क’मा ३३ हजार ६६१, ३ को ‘ख’मा २५ हजार ३११ मत खसेको थियो ।

उपमहानर प्रमुख र गाउँपालिका अध्यक्षमा राजपालाई ‘क’मा ४३ सय ८० र ‘ख’मा ८७ सय ९२ गरी १३ हजार १७२ मत प्राप्त भएको थियो भने नेपाली कांग्रेसलाई ‘क’मा १० हजार ९२८ र ‘ख’मा सात हजार ३०८ मत गरी १८ हजार १३१ मत आएको थियो ।

यसैगरी, एमालेको ‘क’मा ९ हजार ९५९ र ‘ख’मा दुई हजार ६८४ गरी १२ हजार ६४३, संघीय समाजवादी फोरम नेपालको ‘क’मा तीन हजार ११० र ‘ख’मा ९९८ गरी चार हजार १०८, माओवादी केन्द्रलाई ‘क’मा एक हजार ६६१ र ‘ख’मा ७८१ गरी दुई हजार ४४२ मत प्राप्त भएको थियो ।