७ असार २०८२, शनिबार | Sat Jun 21 2025


दाहालको चुनावी प्रचारः दर्जनौं गाडी र सयौं मोटरसाइकलको लावालस्कर (भिडियो)


0
Shares

धेरैजसो जिल्लाबाट बसाइँ सरेर आएकासमेतको बसोबास भएको चितवनले अन्यत्र संकटमा पर्न लागेकालाई राजनीतिक गुन लगाउने गरेको छ ।

पछिल्लोपटक २०७० सालमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालालाई जिताएर देशकै प्रधानमन्त्री बनाएको चितवनमा यसपटक भने अन्यत्र चहारेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यहीँ पुगेका छन् ।

उनी विजयी बन्ने आशाका साथ क्षेत्र नम्बर–३ का मतदाताको दैलोदैलो पुग्दै छन् ।

चितवनको क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धा गरिरहेका दाहाल निर्वाचन प्रचारमा निस्कँदा दर्जनौं गाडी र सयौं मोटरसाइकलको ‘क्याराभान’ देखिनु सामान्यझैं हुन्छ ।

देशकै शक्तिशाली, कुनैबेला सशस्त्रद्वन्द्वको नेतृत्व गरेका र दुईपटक सिंहदरबारमा पुगेर देशको नेतृत्व सम्हालिसकेका दाहालको चुनाव प्रचारका लागि सडकमा देखिएको यो क्याराभानले नेता र उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेको आचारसंहितालाई कत्तिको पालना गरिरहेका छन् भन्ने प्रश्न पनि सँगै जगाइदिएको छ ।

उनकोमात्र होइन, अरु ठूला भनिएका नेताहरुको अघिपछि यसैगरी सवार हुने भीडले शक्तिको प्रदर्शन त गर्छ नै साथ–साथै निर्वाचनमा हुने आकाशिँदो खर्चको लेखाजोखा गर्न पनि मद्दत मिल्छ ।

यस्ता किसिमका भड्किला प्रचार र आचारसंहिताविपरीतका कार्य रोक्न प्रमुख निर्वाचन अधिकृतको कार्यालय लागिपरिरहेको बताउँछन्, मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्मा ।

उसोत अध्यक्ष दाहालको गृहजिल्ला हुँदै हो, चितवन । त्यसमा पनि राष्ट्रियस्तरको नेता, नेकपा एमालेसँग पार्टी एकीकरणसम्मको तयारीमा रहेर मुलुकभित्र र बाहिरका शक्तिलाई ‘सरप्राइज’ दिइसकेकाले पनि यो आकर्षण हुनु स्वाभाविकै हो ।

अझै त्यही क्षेत्रमा गरेका विकासलाई देखाउँदै आफूसँग प्रतिस्पर्धा गर्न आएका राप्रपा नेता विक्रम पाण्डेको प्रचार अभियानलाई छायाँमा पार्न पनि कार्यकर्ता परिचालन गरिनु अस्वाभाविक देखिन्न ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेससँग मिलेर भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई नगरप्रमुखको ताज पहिर्‍याउन सफल उनी यसपटक एमालेसँग मिलेर आफ्नो जित सुनिश्चित गर्ने बाटो पक्रिएका छन् ।

यस क्षेत्रका बासिन्दा पनि दाहाल आफ्नै दैलोमा भोट माग्दै आउँदा निकै उत्साहित देखिन्थे । उनीहरु दाहाललाई टीका लगाइदिने, माला पहिर्‍याइदिनेदेखि झुकेर श्रद्धा व्यक्त गर्नसमेत चुक्दैनथे ।

भिडियो हेर्नुहोस्