
स्वास्थ्य मन्त्रालय र ‘न्यू एरा’ नामक संस्थाले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०१६ ले बालमृत्युदर तीन गुणाले घटेको देखाएको हो ।
सन् १९९६ मा गरेको अध्ययनले एक हजार जिवित जन्मेका शिशुमा ११८ जनाको मृत्यु हुने गरेको देखाएको थियो भने सन् २०१६ मा यो तीनगुणा घटेर ३९ मा झरेको देखाएको छ । दुई दशकमा आमा र बच्चाको स्वास्थ्य सुधारोन्मुख भएको सर्वेक्षणले देखाएको छ ।
यस्तै, गर्भवती सेवा सुधारोन्मुख हुदै गएको देखिएको छ भने दुई दशकयता प्रजनन दर आधाभन्दा बढिले घटेको देखाएको छ ।
स्वास्थ्य मन्त्रालयले काठमाडौंमा गरेको कार्यक्रममा परिवार नियोजनको साधन प्रयोग गर्नेको संख्या दुई दशकमा वृद्धि भएर ५३ प्रतिशत पुगेको जानकारी दिएको छ । स्वास्थ्य सर्वेक्षणले नेपालमा एक तिहाई बढी बालबालिका कुपोषणबाट पुड्को बनेको देखाएको छ ।
त्यसैगरी, १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचापको समस्या रहेको पनि अध्ययनले देखाएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी वरिष्ठ चिकित्सक डा.पुष्पा चौधरीले जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले स्वास्थ्य क्षेत्र सुधारोन्मुख देखाए पनि चुनौतिहरु अझै बाँकी रहेको बताइन् ।
डा. चौधरीले ७८ प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप लगाउन पाएको भन्दै धेरै बालबालिका कुपोषणबाट ग्रसित रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्