कांग्रेसबाट खोटाङ प्रदेशसभा १ का उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिं बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले विज्ञप्तिमार्फत् घोषणा गरेको हो ।
लामीडाँडा गाउँपालिका–२ खार्पा घर भएका उम्मेदवार पोखरेलले गुन्डा र पैसाको बलमा चुनाव जित्ने प्रयत्न गरेको तथा नगरप्रमुख राईले चुनाव जितेर देश लुट्न लागिपरेकाले घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, बस्नेत परिवारले स्थानीयवासी सोझा–साझा जनतालाई शोषण तथा दमनमा पारेर शासन गरेकाले नियन्त्रणमा लिइएको पनि उल्लेख गरिएको छ ।
नियन्त्रित घरजग्गा तथा उनीहरुको चल–अचल सम्पत्ति स्थानीय जनताले उपभोग गर्ने उनीहरुको घरघरमा टाँसिएको विज्ञप्तिमा उल्लेख छ ।
नगरप्रमुख राईको घरमा शनिबार राति विज्ञप्ति टाँस्नुका साथै आँगनमा पार्टीको झन्डा गाडेको तथा अन्यको विभिन्न समयमा विज्ञप्ति टाँसेको पाइएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगरसभाबाट आधा बजेट आफूहरुलाई विनियोजन गर्न उक्त पार्टीले माग गर्दै आएको थियो ।
‘उनीहरुले हाम्रो पनि समानान्तर सरकार छ भन्थे’–नगरप्रमुख राईले भने–‘आधा कार्यक्रम हामी सन्चालन गर्छाैं भन्दै पटक–पटक बजेट माग गरे ।’
चन्द कार्यकर्ताको पटक–पटकको धम्कीपछि खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी र प्रहरी नायब उपरीक्षक लोकदर्शन थापालाईसमेत जानकारी गराइएको नगरप्रमुख राईले बताए ।
जिल्लामा उक्त पार्टीको गतिविधिका विषयमा गम्भीर भएर अनुसन्धान थालिएको प्रनाउ थापाले बताए । रासस





प्रतिक्रिया दिनुहोस्