विशेषगरी दुई प्रखर युवा नेपाली कांग्रेसका गगन थापा र नेकपा एमालेका डा. राजन भट्टराईबीच हुने प्रतिस्पर्धाले यो क्षेत्रको निर्वाचन रोचक बनेको हो ।
मुलुककै ध्यान आकृष्ट गरिरहेका दुई युवा । दुबै मुलुकको संसदीय राजनीतिमा आवश्यक ठानिएका तर पार्टी निर्णयले एउटै क्षेत्रमा प्रतिस्पर्धा गर्न परेपछि काठमाडौंका ४ का मतदाता स्वयं पनि कसलाई चुन्ने भन्ने अन्योलमा परेका छन् ।
कांग्रेसका गगन थापा र एमालेका डा.राजन भट्टराई प्रतिनिधि सभा सदस्यका लागि एउटै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएपछि निर्वाचन रोचक बनेको हो ।
थापा र भट्टराई दुवै निवर्तमान सांसद एवं आशालाग्दा र उदयीमान युवा नेता हुन् । मंसिर २१ गते हुने मतदानमा मतदातालाई आफ्नो पक्षमा पार्न दुबै नेताले घरदैलो अभियानदेखि, प्रचारप्रसार र भेलाजस्ता कार्यक्रम गरिरहेका छन् ।
स्थानीय विकासे एजेन्डादेखि राष्ट्रिय राजनीतिमा आफूले पार्ने प्रभावबारे दुबैले मतदातालाई आश्वस्त पार्दै आफूतिर तान्न हरसम्भव प्रयास गरिरहेका छन् ।
कांग्रेस उम्मेदवार थापाले अघिल्लो निर्वाचनमा स्वतन्त्र र अरु पार्टीका प्रतिबद्ध कार्यकर्ताको पनि मत पाएको र यस पटक पनि दोहोरिने अपेक्षा गरेका छन् । पछिल्लो ४ वर्षमा आफूले विश्वासको पुँजी अझै बढाएको उनको अनुभव छ ।
यसअघि आफूले नै जितेको यो क्षेत्रमा फेरि मतमाग्न क्रियाशील थापाले पूर्वाधार निर्माणमा भएको कामप्रति आफैपनि सन्तुष्ट हुन नसकेको स्वीकार्ने गरेका छन् ।
संविधान निर्माणमा बढी समय दिनुपर्दा मतदाताको चाहनाअनुसार काम गर्न नसकिएको भन्दै उनले अबका दिनमा जनताले प्रश्न उठाउन नपाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता भट्टराईले देशको संविधानको रक्षा र उचित कार्यान्वयनका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।
राष्ट्रियता बलियो बनाउँदै राष्ट्रलाई समृद्ध बनाउने एमालेको अभियानलाई मलजल गर्ने आफ्नो लक्ष्य भएको उनले बताए ।
डा.भट्टराईले स्थानीय तहमा देखिएका शिक्षा, स्वास्थ्य र बेरोजगारी जस्ता समस्या समाधान गर्ने उद्देश्यसहित आफू जनताको माझमा आएको बताएका छन् ।
संविधान निर्माणदेखि कार्यान्वयनसम्म र भारतको नाकाबन्दीविरुद्ध एमालेले निर्वाह गरेको भूमिकाका कारण पन आफूलाई मत आउने उनको विश्वास छ ।
कांग्रेस र एमालेका दुई चर्चित युवा प्रतिस्पर्धामा उत्रिएको काठमाडौं क्षेत्र नम्बर ४ मा विवेकशील साझा पार्टीका तर्फबाट सुबुना बस्नेत पनि चुनावी दौडाहामा छिन् ।
वैकल्पिक राजनीतिक शक्तिलाई मत दिन अपील गर्दै उनले मतदातालाई विवेकको प्रयोग गर्न आग्रह गरेकी छिन् ।
युवा उम्मेदवारबीचको प्रतिस्पर्धाले रोचक बनेको काठमाडौं क्षेत्र नम्बर ४ का मतदाता भने अन्योलमा परेका छन् ।
संसद्मा पुग्नै पर्ने युवा नेता एउटै क्षेत्रबाट उम्मेदवार बनेर आएपछि मतदाता असहज महशूस गरिरहेका छन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा गगन थापा विजयी भएका यस क्षेत्रमा स्थानीय तह चुनावमा आइपुग्दा चुनावी गणित बदलिएको छ ।
दुबै राष्ट्रिय जीवनमा योगदान गरेका नेता भएकाले मत पनि बांडिनसक्ने देखिंदैछ ।
काठमाडौं क्षेत्र नं ४ अन्तर्गत महानगरका वडा नं १, ७, ८ र ३० र बुढानिलकण्ठ नगरपालिकाका वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पर्ने यस क्षेत्रमा २०७० सालमा थापाले एमालेका निर्मल कुईंकेललाई पराजित गरेका थिए
स्थानीय तह निर्वाचनको मतको गणित भने एमाले–माओवादी गठबन्धनको पक्षमा २१ हजार १४८ र कांग्रेस–राप्रपाको पक्षमा १५ हजार ३४५ देखिन्छ ।
विवेकशील-साझा पार्टीले कसको मत तान्ने हो त्यसले पनि जितहारको समीकरणमा केही न केही फरक पार्ने नै छ ।





प्रतिक्रिया दिनुहोस्