Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


शेरधन राई सवार गाडीमा बम प्रहारको घटनाप्रति एमालेको आपत्ति


0
Shares

भोजपुर–१ को ट्याम्केमैयुम नगरपालिका–७ गुम्बा भन्ने ठाउँमा निर्वाचन प्रचारको क्रममा हाम्रा पार्टीका प्रदेश नं १ का सहसंयोजक एवं भोजपुर १ का प्रदेश सभा सदस्य उम्मेदवार पूर्वमन्त्री राईमाथि आज बिहान भएको साङ्घातिक आक्रमणलाई पार्टीले गम्भीरतापूवर्क लिएको एमाले अध्यक्ष ओलीद्वारा विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएका छौं, विज्ञप्तीमा अघि भनिएको छ,‘यस घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने स्पष्ट हुन्छ ।’

हामी सरकारलाई निर्वाचनका उम्मेदवारहरूलाई यथेष्ट सुरक्षा प्रदान गर्न र यस्ता साङ्घातिक आक्रमणहरू नियन्त्रण गर्न सचेत गराउँछौ, विज्ञप्तीमा उल्लेख छ । हामी हाम्रा उमेदवार शेरधन राईका अंगरक्षक घाइते हुने गरी भएको यो आक्रमणको घोर निन्दा गर्दछौं ।

पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ ।

हामी यस्ता खालका घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग गर्दछौं । र, घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न आग्रह गर्दछौं, विज्ञप्तीमा भनिएको छ ।