Logo ११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026


प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछ : गच्छदार


0
Shares

नेपाल प्रेस युनियन मोरङद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा विविध जनसंख्याको संरचना रहेकाले कार्यकारी पद्धतिबाट सबै जातजातिको प्रतिनिधित्व हुन नसक्ने धारणा व्यक्त गरे ।

कांग्रेसका नेता गच्छदारले ‘देश संघीयतामा गइसकेको तथा सिंहदरबारको अधिकार निर्वाचित स्थानीय निकायमा आइसकेको अवस्थामा अब पुनः केन्द्रीकृत पद्धति ल्याउनु लोकतन्त्रलाई विवादमा ल्याउनुमात्र हो’–भने ।

उनले ‘सुनसरी, मोरङ र झापा जिल्ला मिलाएर एक अलग्गै प्रदेश निर्माण गर्ने विषय अहिलेपनि जीवित छ’ भन्दै विराटनगर र इटहरी मिलाई बृहत् महानगर निर्माण गरी प्रदेशको राजधानी तोकिनुपर्ने औंल्याए ।

उपप्रधानमन्त्री गच्छदारले ‘नयाँ संविधानले नागरिकतासम्बन्धी समस्या धेरै हदसम्म समाधान गरेको छ’ भन्दै केही बाँकी रहेको समस्या अब बन्ने नयाँ सरकारले ऐनद्वारा समाधान गर्ने विश्वास व्यक्त गरे ।

उनले निर्वाचनको समयमा शान्ति–सुरक्षा कायम गर्न सरकार कटिबद्ध रहेको बताउँदै ‘केही दिनअगाडि उम्मेदवारमाथि आक्रमणको प्रयास हुनु केही छिटफुट घटनामात्र हो’–भने ।

उनले भूकम्पीडितलाई जस्तै घरवारविहीन बाढीपीडितलाई पूर्वनिर्धारित् कार्यक्रमअनुसार साधारण घरबार निर्माण गर्न सरकारले केही रकम किस्तामा वितरण गरेको जानकारी दिए ।

एक प्रश्नको जवाफमा नेता गच्छदारले लोकतन्त्रलाई बलियो बनाउन नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेस एकीकरण गरिएको बताउँदै ‘यसमा तत्कालीन फोरमका सबै कार्यकर्ताको सहमति रहेको छ’–भने । रासस