
नेताहरु घरघरमै पुगेर मत माग्न थालेपछि निर्वाचनको उत्साह बढ्दै गएको छ । स्थानीयले गाउँमा सडक र विजुली बत्तीको व्यवस्था गर्न माग गरेका छन् ।
गाउँको समृद्धि र विकासको योजनासहित उम्मेदवारहरु आमसभा तथा घरदैलोमा सहभागी हुँदैछन् । मतदाताहरुले भने ग्रामीण सडकलाई प्राथमिकतामा दिन उम्मेदवारहरुलाई सुझाव दिइरहेका छन् ।
दूधकोसी गाउँपालिका–६ का मनिषकुमार राईले दुर्गम जिल्ला सोलुखुम्बुमा सडक विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने आफूहरुको माग रहेको बताए ।
महाकुलुङ गाउँपालिकाको बुङका परमध्वज कुलुङले सडक, सुशासन तथा पहिचानका कुरा लिएर उम्मेदवारहरु मत माग्न आइरहेको बताए । उनले जिल्लाको विकासलाई प्राथमिकता दिन उम्मेदवारहरुलाई सुझाव दिएको जानकारी दिए ।
उम्मेदवारहरुले महत्वाकांक्षी योजना सुनाउँदै मत मागिरहे पनि ग्रामीण क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने सुझाव आफूहरुले दिएको बताउँछन्, नेचा सल्यान गाउँपालिकाका गंगाप्रसाद पराजुली ।
सोलुखुम्बुमा नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा छ । नेपाली कांग्रेसका तर्फबाट छैटौँ पटक उम्मेदवार बनेका कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले जिल्लाको विकासमा आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र यसलाई निरन्तरता दिन आफू पुनः निर्वाचित हुनुपर्ने बताए ।
यस्तै, बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमकुमार राईले देशलाई अग्रगति दिन वामपन्थी उम्मेदवारको जित आवश्यक भएको बताए ।
प्रतिक्रिया दिनुहोस्