Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


कैलाली र भोजपुरबाट नेकपा ‘विप्लव’का ८ जना कार्यकर्ता पक्राउ


0
Shares

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का जिल्ला इन्चार्ज रामप्रसाद चौधरी, क्षेत्रीय ब्यूरो सदस्य प्रकाश मल्ल, भूमिहीन सुकुम्वासी संघका केन्द्रीय उपाध्यक्ष मीनराज गिरी र तपेन्द्र रसाइलीलाई बिहीबार पक्राउ गरिएको जानकारी दिए ।

दुई जनालाई टीकापुरबाट र दुई जनालाई हसुलियाबाट पक्राउ गरिएको उनले जानकारी दिए ।

देशका विभिन्न जिल्लामा उम्मेदवारलाई लक्षित गरी बम विस्फोटनजस्ता घटना बढ्दै जान थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले दुई दिनअघि मात्रै यहाँ भएको निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठीमा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुदृढ बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका थिए ।

भोजपुरबाट विप्लव समूहका चार कार्यकर्ता पक्राउ

त्यसैगरी, भोजपुरमा निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन् ।

नेकपा (एमाले) उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले बिहीबार भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो ।

टेम्केमैयुंग गाउँपालिका–२ छिनामखुबाट लोकबहादुर विष्ट, षडानन्द नगरपालिका–२ कुदाककाउलेबाट दुर्गा भट्टराई, षडानन्द नगरपालिका–१० बोयाबाट जीवन राई र भोजपुर नगरपालिकाबाट गोपाल पराजुलीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गितनारायण चौधरीले जानकारी दिए ।

यता, आफ्ना कार्यकर्ता गिरफ्तार गरिएको विरोधमा कम्युनिष्ट पार्टीले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै भत्र्सना गरेको छ । जिल्ला सेक्रेटरी मादेन किरातीद्वारा जारी विज्ञप्तिमा स्थानीय प्रशासनले गलत ढंगबाट आफ्ना शुभेच्छुकमाथि धरपकड गरेको उल्लेख गरिएको छ । रासस