
जुम्ला, असार १६ । चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा तत्काल जारी गर्नुपर्ने माग राख्दै आमरण अनशन बस्न जुम्ला पुगेका डा गोविन्द केसीलाई अनशन गर्न रोक लगाइएको छ ।
डा केसी अनशन बस्ने स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरलाई नै जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधित क्षेत्र घोषणा गरी रोक लगाएको हो ।
डा. केसीको अनशन बिथोल्ने गरी प्रशासनले हिजो नै प्रतिष्ठान परिसरको २ सय मिटर वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको हो ।
प्रशासनले यो सँगै थप दुई स्थानलाई पनि निषेधित क्षेत्र तोकेको छ ।
प्रतिष्ठान परिसरसहित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयदेखि २ सय मिटर वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको हो ।
अनशन बस्न डा केसी शुक्रबार बेलुकी जुम्ला सदरमुकाम खलंगा पुग्नु भएको थियो तर केसी अनसन बस्नुभन्दा पहिले नै जिल्ला प्रशासनले विज्ञप्ति निकालेर निषेधित क्षेत्र तोकेको हो ।
संविधानमै लेखिएको अभिव्यक्ति स्वतन्त्रताविरुद्धमा प्रशासनले प्रतिबन्ध लगाएको भन्दै डा.केसीले त्यसको नतिजा राम्रो नहुने चेतावनी दिए ।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा लामो समयसम्म एमबीबीएस पढाईको बाटो खुला नगरेकोमा आपत्ति जनाउँदै जुम्लामै १५ औँ अनशन बस्न आफू आएको बताए ।
प्रतिक्रिया दिनुहोस्