आयोजनाको कूल ८ दशमलव ५ किलोमिटर सुरुङमध्ये मुख्य सुरुङको बाँकी रहेको २ मिटर सुरुङको आइतबार ‘ब्रेक थ्रु’ भएको हो ।
मुख्य सुरुङमध्ये सबैभन्दा कठिन मानिएको ‘एचटी थ्रीदेखि एचटी फोर’सम्मको बाँकी रहेको २ मिटर सुरुङ आइतबार बिहान ‘ब्रेक थ्रु’ भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए ।
आमविनाशकारी भूकम्पका कारण आयोजनाको मुख्य सुरुङको निर्माण कार्य डेढवर्ष स्थगित गर्नु परेको थियो । मुख्य सुरुङको ‘ब्रेक थ्रु’ पछि ‘एचटी थ्री’बाट प्रवेश गरेका विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ‘एचटी फोर’बाट प्रवेश गरेका उर्जा सचिव अनुपकुमार उपाध्यायले एक अर्कालाई अंकमाल गरी बधाईसमेत आदान प्रदान गरेका थिए ।
यसरी दुई तिरबाट एकसाथ खनिएको सुरुङ एकै पटकमा सफल ब्रेक थ्रु हुनु भनेको जलविद्युत आयोजना निर्माणको क्रममा सबैभन्दा खुसीको दिन भएको उर्जा सचिव अनुपकुमार उपाध्यायले उल्लेख गरे ।
आयोजनाको अत्यन्त कठिन कार्यको रुपमा रहेको २ ओटा ठाडो पेनस्टक साफ्टहरुमध्ये ३ सय ११ मिटर अग्लो माथिल्लो पेनस्टक साफ्ट गत भदौमा र ३ सय ७३ मिटर अग्लो तल्लो पेनस्टक साफ्ट २०७१ माघमा ‘ब्रेक थ्रु’ भई अन्य कार्यहरु समेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
आयोजनाको हेडवर्क्सको ९० प्रतिशत र भूमिगत विद्युत गृहको सिभिल निर्माण कार्य ९९ सय प्रतिशत काम सम्पन्न भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए ।
आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएकोमा डलरको सटही दर वृद्धि, निर्माण अवधिको व्याज भूकम्प, नाकाबन्दी र विभिन्न कारणले बढेर ४१ अर्ब ७८ करोड रुपैयाँ पुग्ने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्