Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


चमेलियाबाट ३० मेगावाट विद्युत् उत्पादन सुरु


0
Shares

सन् २००७ देखि निर्माण कार्य सुरु भएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको झन्डै १० वर्षपछि बिहीबारदेखि प्रसारण सुरु भएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए ।

आयोजनाले गत भदौमा परीक्षण गरिएको प्रसारण लाइनलाई बिहीबार चार्ज गरेको हो । प्रसारण लाइनमा प्रयोग भएका टावर, तारलगायतका अन्य संरचना नछुन आयोजनाले सूचनामार्फत सबैमा जानकारी गराएको छ । १३१ किलोमिटर लामो सो प्रसारण लाइनमा कूल ४१२ ओटा टावर रहेका छन् ।

तत्काल ‘सिंगल सर्किट’बाट चमेलियाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख दाहालले बताए । चमेलिया आयोजनाका लागि निर्माण गरिएको प्रसारण लाइन ‘डबल सर्किट’ बनेपछि चमेलिया, पश्चिम सेती जलाधार क्षेत्रमा निर्माणाधीन अन्य साना–ठूला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्न सहज हुने उनले बताए ।

सन् २००७ मा निर्माण सुरु गरी सन् २०११ को डिसेम्बरमा निर्माणसम्पन्न गरी बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको थियो । सो समयमा कामसम्पन्न हुन नसकेपछि उक्त समयसिमा सन् २०१७ को डिसेम्बर पुर्‍याइएको थियो । चमेलिया जलविद्युत् आयोजनाबाट निर्माण सुरु भएको १० वर्षपछि बिजुली बलेको हो ।

चमेलिया जलविद्युत् आयोजनाको सुरुको अनुमानित लागत रु ८ अर्ब ५० करोड थियो तर, झन्डै १० वर्षको अवधिसम्म रु १५ अर्ब ५० करोडभन्दा बढी खर्च भएको छ । आयोजनाको सिभिलतर्फको काम सन् २००७ मा र ‘इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल’ तथा प्रसारण लाइनको काम सन् २००९ को मे महिनाबाट सुरु गरिएको थियो ।

प्रसारण लाइनतर्फ भने दार्चुलाको बलाँचदेखि कैलालीको अत्तरियासम्मको १३१ किलोमिटर दूरीमा ४१२ टावर निर्माण गरिएका छन् । सिभिलतर्फ चिनियाँ कम्पनी गेजुवाले काम गरेको थियो भने ‘इलेक्ट्रोमेकानिल, हाइड्रोमेकानिकल’ तथा प्रसारण लाइनको काम कोरियन कम्पनी ‘कोरिया हाइड्रो एन्ड न्युक्लियर पावर कम्पनी’ले गरेको आयोजनाले जनाएको छ । चमेलिया सरकारको पूर्ण लगानीमा निर्माण भएको हो । रासस