Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कर सप्ताह सम्पन्न, करको दायरा बढाउन सुझाव


0
Shares

राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले उच्च करदातालाई सम्मान गरेको छ भने कर प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ ।

आन्तरिक राजश्व विभाग र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्तरुपमा बिहीबार राजधानीमा कर सप्ताह समापनको कार्यक्रम आयोजना गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नीतिगत समस्याका कारण कर संकलन सन्तोषजनक हुन नसकेको बताइन् ।

उनले करको दायरा बढाउन सुझाव दिँदै सबैलाई समेट्नुपर्ने बताइन् । कर संकलनलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले मुलुकको मुख्य चुनौती आर्थिक वृद्धिदर रहेको भन्दै आर्थिक समृद्धिको नेतृत्व निजी क्षेत्रले लिनुपर्ने बताए । त्यसका लागि लगानीको वातावरण सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

संघीय संरचनामा राजस्वको संरचना थप विस्तार गर्ने, करको दायरा बढाउने, प्रक्रियालाई सरलीकृत गर्नेलगायत विभिन्न किसिमका करमैत्री वातावरणको प्रयास गरिने उनले उल्लेख गरे ।

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकारले सरकार र निजी क्षेत्रको सहकार्यबिना कर संकलन अभियान प्रभावकारी हुन नसक्ने बताए ।

उनले अधिकतम् व्यक्तिलाई करको दायरामा ल्याउन आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र नीजि संघ–संस्थासँगको समन्वयमा जोड दिए ।

कार्यक्रममा समयमै र धेरै कर तिर्ने करदाता एवं कर्मचारीलाई सम्मान गरिएको थियो ।