Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


झिंगामा ६०० भन्दा बढी प्रकारका ‘ब्याक्टेरिया’ फेला : अध्ययन


0
Shares

पीन स्टेट विश्वबिद्यालयका वैज्ञानिकहरुले झिंगाको ‘डिएनए’ परीक्षण गरी विश्लेषण गर्दा करिव ६ सयभन्दा बढी थरीका ‘ब्याक्टेरिया’को घर रहेकोे र ती ‘ब्याक्टेरिया’को संक्रमण मानिसमा हुनेसक्ने पुष्टि गरेको हो ।

‘जर्नल साइन्टिफिक रिर्पोट्स’मा प्रकाशित उक्त अध्ययनले ती ‘ब्याक्टेरिया’ले मानिसमा पेट, रगतलगायत निमोनियाको खतरा बढ्ने उल्लेख गरेको छ । अध्ययनकर्ताहरुले गरेको परीक्षणमा झिंगाको हातखुट्टा, आँखा र पखेटाबाट ती ब्याक्टेरिया ठाउँको ठाउँमै मानिसमा सर्ने खालको रहेको पत्ता लागेको हो ।

पीन स्टेट विश्वबिद्यालयका प्राध्यापक तथा अध्ययनका सहलेखक डोनाल्ड ब्रायन्टले ‘बीबीसी’लाई बताएअनुसार मानिसहरुले  झिंगाबाट ‘ब्याक्टेरिया’को संक्रमण हुन्छ भन्ने तथ्य थाहा पाएका छन्, तर यति धेरै मात्रामा झिंगाबाट कसरी मानिसमा ‘ब्याक्टेरिया’को संक्रमण हुन्छ भन्ने तथ्य अध्ययनले प्रमाणित गरेको छ । उनले ‘डिएनए’ परीक्षण विधिबाट झिंगाको शरीरबाट ‘माइक्रोबेस’को संग्रह भेटिएको र त्यसैको अध्ययन विश्लेषणको आधारमा ६ सयभन्दा बढी थरीका ‘ब्याक्टेरिया’को घर रहेका पुष्टि भएको बताए ।

विश्वव्यापी रुपमा घरमा पाइने सामान्य झिंगामा ३५१ प्रकारका ब्याक्टेरिया भेटिएको र गर्मि मौसममात्र कहिंलेकाहि देखिने ठूला खालका झिंगामा ३१६ प्रकारका ‘ब्याक्टेरिया’ भेटिएको अध्ययनले बताएको छ ।

अध्ययनकर्ताहरुले सार्वजनिक स्वास्थ्यको मामलामा स्वास्थ्य अधिकारीहरुले रोगको प्रकोप निम्त्याउन सक्ने संक्रमणजन्य झिंगालाई बेवास्ता गरिएको बताएका छन् ।

अध्ययनकर्ताहरुले सार्वजनिक स्वास्थ्यमा गम्भीर खतरा रहेको चेतावनी दिँदै संक्रमणजन्य झिंगालाई नियन्त्रयण गर्न तथा माइक्रोबेस खोज्न जिवित ‘बायोनिक ड्रोन’ (मानव निर्मित जैविक झिंगा) प्रयोग गर्न सकिने सुझाव दिएका छन् ।

सिंगापुरको ‘नानयांग टेक्नोलोजिकल यूनिभर्सिटि’का अध्ययन निर्देशक स्टीफन शूस्टरले संक्रमणजन्य झिंगाको नियन्त्रण गर्न बेलैमा सुझबुझका साथ ‘बायोनिक ड्रोन’को प्रयोग गरी सानोभन्दा सानो क्षेत्रमा खोज अभियान चलाउनु पर्ने बताए ।

घरमा पाइने झिंगालाई विशेषगरी घर वरीपरीको वातावरणको सरसफाइको प्रतिकको रुपमा बुझिन्छ । यस्ता झिंगाहरु बासी तथा फोहर खानेकुरामा बढी झुम्मिने गर्दछ । त्यस्तै, लामो दूरीमा उड्ने तथा गर्मी मौसमा देखिने ठूला झिंगा मरेको सिनो, खुल्ला शौचालय तथा दूर्गन्धित क्षेत्रमा बढी झुम्मिने गर्दछ । एजेन्सी