४ असार २०८२, बुधबार | Thu Jun 19 2025


विपन्न समुदायका घर–घरमा ग्यासचुलो, बालिका जन्मिनेबित्तिकै बैंक खातामा १० हजार : ठाकुर


0
Shares

उनले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दुई नम्बर प्रदेशमा मधेसी गठबन्धनलाई दुई तिहाइ मतले जिताउन आग्रह गरे ।

संयोजक ठाकुरले आफूहरुको बहुमत आएको अवस्थामा बन्ने सरकारले शिक्षालाई निःशुल्क बनाउनुका साथै विपन्न समुदायका घर–घरमा ग्यासचुलो उपलब्ध गराउने र बालिकाको जन्म हुनेबित्तिकै उनको नाममा १० हजार रुपैयाँ बैंक खातामा जम्मा गरिने घोषणा पनि गरे ।

शनिबार राजपा र संघीय समाजवादी फोरम नेपालबीचको गठबन्धनले मधेस आन्दोलनको केन्द्र मानिने सप्तरी सदरमुकाम राजविराजबाट संयुक्त चुनावीसभाको सुरुआत गरेको छ । सोही सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मधेस आन्दोलनकाक्रममा राज्यद्वारा आतंक मच्चाएको आरोप पनि लगाए ।

सभालाई सम्बोधन गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनलाई ‘मधेस र लोकतन्त्रविरोधी’ भएको आरोप लगाए ।

उनले मधेसी जनताको भावना र आदेशानुसार नै सम्पूर्ण मधेसी दल एक भएर चुनावमा होमिएको बताए ।

यस्तै, राजपा अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले आसन्न निर्वाचन ‘बदला’ लिने मौका भएको जिकिर गरे ।

‘मंसिर २१ गते बुलेटको जवाफ जनताले ब्यालेटमार्फत् दिनुपर्छ’–उनले भने–‘मतदान गर्ने समयमा एकपटक अवश्य सहिदलाई याद गर्नुहोला ।’

स्थानीय तहको निर्वाचनमा छुट्टाछुुट्टै चुनाव लडेपनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तालमेल भएपछि शनिबारदेखि राजपा–फोरम गठबन्धनले संयुक्त चुनावीसभा थालेको हो । प्रदेश नम्बर–२ मा राजपा र फोरम नेपालले गठबन्धन गरेका हुन् ।

सो सभालाई राजापाका महासचिव मनीष सुमन, फोरम नेपालीकी उपाध्यक्ष रेणु यादव, केन्द्रीय सदस्य डा. खालिद हुसैन हक, सैलेन्द्र साह, महिला नेत्री सरिता गिरीलगायतले पनि सम्बोधन गरेका थिए ।