संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिद्वारा शनिबार पोखराको अमरसिंहचौरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले शान्ति, राजनीतिक स्थिरता र देशलाई आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउन दुई पार्टीबीच पार्टी एकता गर्न लागिएको स्पस्ट पारे ।
दुई पार्टीबीचको चुनावी तालमेलले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने र नेपाली कांग्रेस नेतृत्वको सरकार हटेर पुस महिनादेखि वामपन्थीहरुको बहुमतको सरकार बन्ने दाबी अध्यक्ष ओलीले गरे ।
उनले भने–‘म आफू प्रधानमन्त्री हुँदा बूढाबूढीको वृद्धभत्ता रु एक हजारबाट बढाएर रु दुई हजार बनाइदिएको थिएँ अब रु दुई हजारबाट बढेर वृद्धभत्ता रु पाँच/पाँच हजार पुर्याइन्छ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सरकारले संविधान कार्यान्वयनमा विशेष महत्व राख्ने बताउँदै संविधान कार्यान्वयनपछि देशमा तीव्रगतिमा विकास र निर्माणका कार्य अघि बढ्ने धारणा राखे ।
उनले वामपन्थीहरुको बहुमतको सरकार बनेपछि केरुङ–काठमाडौं–पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग पुर्याउने कामलाई अगाडि बढाइने विचार व्यक्त गरे ।
नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापाले एमाले–माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकताको सन्देशले वामपन्थीविरोधी शक्तिमा ठूलो तरङ ल्याएको बताए ।
कम्युनिस्टहरुको जनमत दुई तिहाइ भएपनि एकापसमा टुटफुट र विभाजनले आजसम्म गैरवामपन्थीहरुले फाइदा उठाएको उल्लेख गर्दै उनले चुनावपछि दुई तिहाइ वामपन्थीको मतले देशमा स्थिरता र गरिबी उन्मूलन हुने विचार व्यक्त गरे ।
संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिका संयोजक बखानसिंह गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर–१ का उम्मेदवार खगराज अधिकारी, उपसंयोजक प्रभा कोइरालाले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेलाई पार्टी अध्यक्ष ओलीले टीका लगाइ स्वागत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्