Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


अब मेरा लागि नेपालका हरेक युवा–युवती ‘प्रकाश’ : दाहाल


0
Shares

दक्षिण चितवनको माडीमा आइतबार साँझ भएको चुनावी सभामा उनले यही मंसिर ३ गते छोरा प्रकाश बितेर आफू शोकमा रहेको उल्लेख गर्दै अब देशका हरेक युवा–युवती ‘प्रकाश’ भएको बताए ।

‘तपाईंहरुलाई थाहा भयो होला, हाम्रा एकमात्र छोरा प्रकाशको हृदयघातले निधन भयो,’ अध्यक्ष दाहालले भने, ‘बाबु हुनुको नाताले हामी शोकमा छौँ, तर, अब मेरा लागि नेपालका प्रत्येक युवा–युवती प्रकाश हुन् ।’

चितवन निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष दाहालले सम्पूर्ण जीवन तिनै छोराछोरीको भविष्य निर्माणमा खर्चिने संकल्प लिएको बताउँदै कम्युनिस्ट एकतापछि नेपालमा विकास रेल इन्जिनको गतिमा अघि बढ्ने दाबी गरे ।

‘कम्युनिस्ट एकता चुनाव जित्नका लागि मात्रै नभई नेपालमा राजनीतिक स्थिरता, विकास र समृद्धिलाई गति दिनका लागि भएको छ,’ उनले भने ।

चुनावी अभियानका क्रममा अध्यक्ष दाहालले स्थानीय जनतासँग अन्तरक्रिया र स्थानीयवासीका समस्याबारे चासो राखेका थिए । सो अवसरमा कलाकारहरु बद्री पंगेनी, चेतन सापकोटालगायतले जनवादी गीत–संगीत प्रस्तुत गरेका थिए ।

आएतबार बिहान अध्यक्ष दाहालले माडीको बाँदरमुढेमा रहेको सशस्त्र युद्धका क्रममा मृत्यु भएका नागरिकको स्मृतिमा निर्मित स्मारकमा माल्यार्पणसमेत गरे भने विकट बस्ती बाँदरझुलामा पुगेर घरदैलो अभियानमा सरिक भए ।