
काठमाडौं, पुस ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् बुधबारदेखि सुरु भएको एघारौं चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।
हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले दुई गोल गरे भने गोहा प्याट्रिक र विशन गुरुङले एक/एक गोल थपे । उक्त चारै गोल खेलको दोस्रो हाफमा भएको थियो ।
खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको हिमालयन शेर्पाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै गोल गरेको थियो ।
खेलको ४६औं मिनेटमा विदेशी खेलाडी गोहा प्याट्रिकले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाए । त्यस्तै, खेलको ५४औं मिनेटमा हिमालयनका विशन गुरुङले प्रहार गरेको बल गोलकिपरको हातबाट फुस्किएर गोल हुन पुग्यो ।
त्यसैगरी, खेलको ६१औं र ८०औं मिनेटमा हिमालयन शेर्पाका विश्वास श्रेष्ठले व्यक्तिगत दुई गोल थपे ।
पराजित ब्रिगेड ब्वाइजका लागि वर्तमान राईले खेलको ८७औं मिनेटमा एक सान्त्वना गोल फर्काएका थिए ।
खेलमा ‘म्यान अफ दी म्याच’ हिमालयन शेर्पाका कप्तान मानबहादुर तामाङ घोषित भए ।
जितसँगै १७ अंक जोडेको हिमालयन शेर्पा तालिकाको पाँचौं स्थानमा उक्लेको छ भने पराजित ब्रिगेड ब्वाइज ६ अंकसहित बाह्रौं स्थानमा छ । रासस
प्रतिक्रिया दिनुहोस्