नेपाल सरकारले वस्तु विनिमय बजारको विकास तथा सन्चालन नियमन गर्न वस्तु विनिमय बजारसम्बन्धी ऐन, २०७४ मिति २०७४ भाद्र ११ गतेदेखि लागू गरेको थियो । बोर्डले सोमबार पत्रकार सम्मेलन गरी यस ऐनको कार्यान्वयनको लागि नियमावली सार्वजनिक गरेको हो ।
यस व्यवस्थासँगै धितोपत्रबजार साथसाथै वस्तु विनिमय बजारकोसमेत विकास र विस्तार गर्ने जिम्मेवारी बोर्डमा आएको छ । बोर्डले वस्तु विनिमय बजार सन्चालन गर्ने संगठित संस्थाको चुक्तापुँजी ५० करोड रुपैयाँ, वेयर हाउसका लागि १५ करोड रुपैयाँ, राफसाफ तथा फर्छ्यौट व्यवसायका लागि ७ करोड रुपैयाँ तोकेको छ ।
यसैगरी, लगानी व्यवस्थापकका लागि ५ करोड, लगानी परामर्शदाताका लागि १ करोड तथा वस्तु कारोवार दलालका लागि ५० लाख रुपैयाँ चुक्तापुँजी तोकिएको छ । वस्तु विनिमय बजार सनचालन गर्न कम्पनी स्थापना गर्नु अघि संभाव्यता अध्ययन प्रतिवेदन, लगानीको स्रोत, सेयर स्वामित्वसम्बन्धी विवरण तथा बस्तुको विद्युतीय कारोबार प्रणालीको सुरक्षाका लागि व्यवस्थालगायतका विवरणसहित बोर्डवाट पूर्व स्वीकृतिको लागि निवेदन पेश गर्नुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ ।
देशको समग्र आर्थिक अवस्था तथा आर्थिक क्रियाकलापको आधार, लगानीकर्ताको हित संरक्षण, वस्तु विनिमय बजार सन्चालन गर्न चाहिने साधन-स्रोत र प्रतिस्पर्धालाई दृष्टिगत गरीवस्तु विनिमय बजारलाई अनुमति दिने, कसैले पनि वस्तु विनिमय बजारको कूल शेयर पुँजीको ५ प्रतिशतभन्दा बढी शेयर स्वामित्व ग्रहण गर्न नपाउनेलगायतका व्यवस्था गरिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी गराए ।
वस्तु विनिमय बजारमा कृषिजन्य उत्पादनअन्तर्गत कपास, अलैंची, जिरा, खुर्सानी, मरीचलगायतका वस्तुको कारोबार गर्न सकिन्छ । यस्तै, धातुजन्य वस्तुअन्तर्गत आल्मुनियम, तामा, सिसा, निकल, टिन, पित्तल, फलाम, स्टिल, जिंक, बहुमूल्य धातुमा सुन, चाँदी, प्लाटिनम वस्तुको कारोबार गर्न सकिन्छ ।
त्यस्तै, खनिजतैलजन्य वस्तुअन्तर्गत तेल र चिनी, सख्खर, चिया, कफी, अन्डा, जडिबुटीलगायतका अन्य वस्तुको कारोबार गर्न सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्