उनले वाम गठबन्धनको नाममा कम्युनिष्ट तानाशाही शासन व्यवस्था लाद्न खोज्ने नेकपा एमाले र माओवादी केन्द्रको ‘दुष्प्रयास’ कुनैपनि अवस्थामा पूरा हुन नदिन जनता सचेत हुनुपर्ने समय आएको जिकिर गरे ।
विश्वमा कम्युनिष्ट तानाशाही शासन व्यवस्था सफल नभएको बताउँदै उनले नेपालमा वाम गठबन्धनको नाममा लोकतन्त्र समाप्त गर्ने प्रयास भइरहेको दाबी गरे ।
नेपाली कांग्रेस क्षेत्र नम्बर–५ रुपन्देहीले निर्वाचन क्षेत्र नम्बर–५ को सालझन्डीमा मंगलबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले अहिले लोकतन्त्र बचाउन पनि प्रजातान्त्रिक शक्तिलाई बहुमतले विजयी बनाउनुपर्ने बताए ।
देउवाले कांग्रेसको बहुमतको सरकार आएको अवस्थामा सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने, बेरोजगार युवालाई बेरोजगार भत्ता दिने र सुकुम्वासी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संसारभरि नै चिनिएको लुम्बिनीको विकासमा कांग्रेसले जोड दिएको उनको भनाइ थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले मुलुकमा कम्युनिष्ट शासन ल्याएर देशलाई अनिश्चिय र अनिष्टतर्फ धकेल्न खोजेको आरोप लगाए ।
उनले अहिलेको जमाना कम्युनिष्टको नभइ लोकतन्त्रको भएको बताए ।
यस्तै, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कम्युनिष्ट शासन व्यवस्था ल्याउने भन्दै वाम गठबन्धनले अहिले गरिरहेको प्रयास जनताले कदापि सफल हुन नदिने बताए ।
उनले अब मुलुकमा वास्तविक अर्थमा आर्थिक क्रान्ति गर्ने समय आएको बताउँदै लोकतान्त्रिक व्यवस्थामामात्र आर्थिक क्रान्ति हुने दाबी गरे ।
बीपीले देखेको सपना पूरा गर्ने समय बल्ल आएको भन्दै उनले लोकतन्त्रको माध्यमबाट आर्थिक क्रान्ति गरेर देशलाई समृद्ध बनाउने र जनतालाई धनी बनाउने कांग्रेसको अभियान रहेको बताए ।
सभामा कांग्रेस नेता बालकृष्ण खाँण, उद्योगपति विनोद चौधरी, नेपाली कांग्रेसका रुपन्देही क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भरत शाहलगायतले बोलेका थिए ।









प्रतिक्रिया दिनुहोस्