
कुनै पनि व्यक्तिको मत अर्काेले हाल्न नपाउने व्यवस्था र यसको पालनाका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन अधिकृतको कार्यालयले कडाई गर्ने भने पनि त्यसो भएन । महिलाको मत पुरुषले हाल्ने पुरानै चलनको निरन्तरता दिदै अधिकांश महिलाको मत पुरुषले नै हालेको स्थानीयले बताए ।
सुरुमा आफ्नो मत आफैँ हाल्नु पर्ने नियमको कडाइका साथ पालना गरिएको भए पनि ११ बजेपछि सबै दलका प्रतिनिधिहरुको सहमतीमा महिलाले चाहेमा अर्काेलाई मत हाल्न दिने व्यवस्था गरिएको जयपृथ्वी नगरपालिका–१ का कृष्ण विकले बताए । ‘कसै कसैले त १०÷१५ जना महिलाको मत पनि एकैजनाले खसालेका छन्,’ उनले भने, ‘धेरै जसो महिलाहरु आफैँ हाल्न सक्दैनौं भन्न थाले । उनिहरुको मत अरुले हालिदिए ।’
महिलाको मत अरुले हाल्ने प्रचलनको निरन्तरता जिल्ला भरीका १६० वटै मतदान केन्द्रमा देखिएको स्थानीयले बताएका छन् । विथ्थड चिर गाउँपालिकामा पनि अधिकांश महिलाको मत पुरुषले नै हालेको स्थानीय कर्णबहादुर बोहराले बताए । उनले भने, ‘२०÷२५ वर्षका महिलालाई पनि भोट यसरी हाल्नु पर्छ भनेर सिकाएनन्, उल्टै आँखा देख्दिनँ, हात काँप्छ भन्नु भनेर पहिले नै सिकाएका रहेछन् । एक÷दुई जना महिलाको मत अरुले हाल्ने बित्तिकै त नियमैजस्तो भइहाल्यो ।’
कुनै कुनै मतदान केन्द्रमा भने महिलाको भोट अरुले हाल्ने विषयमा कडाई गरेपछि विवादसमेत भएको थियो । थलारा गाउँपालिका–८ मा रहेको शैलेश्वरी निमावि मतदात केन्द्रमा देवराज पाध्याकी श्रीमतीको भोट श्रीमानले हाल्न खोज्दा झडप भयो । झडपका क्रममा एमालेका एकजना कार्यकर्ता सामान्य घाईते भएका थिए । पछि स्वयं महिलाहरुले आफ्नो मत आफैँले हालेको स्थानीय पदम शर्माले बताए । उनका अनुसार कतिपय महिलाहरुले मत बिगारेका छन् । समानुपातिक मतपत्रमा तल र माथि दुई ठाउँ छाप लगानु पर्नेमा यहाँका महिलाहरुले एकै ठाउँ अर्थात माथिमात्र छाप लगाएको बताएका छन् भने कतिपय महिलाहरु ल्याप्चे समेत हानेका छन् ।
आफुहरुले महिलाको मत अरुलाई हाल्न नदिने विषयमा कडाई गर्न खोजे पनि मतदान कार्यमा खटिएका दलका एजेन्टहरुले यसको विरोध गर्न थालेपछि आफुहरु पछि हटेको मतदान अधिकृतहरुले बताएका छन् । ‘महिलाले मत बिर्गाछन्, बदर हुन्छ भनेर सबै दलका एजेन्टहरु एकै स्वरमा विरोध गर्न थाले,’ एक जना मतदान अधिकृतले भने, ‘त्यही विषयलाई लिएर अशान्ति हुने, मतदान नै बिथोलिने अवस्था आएपछि हामी पनि बाध्य भयौं ।’
‘महिलाको मत पुरुषले हाल्न नपाउने भएपछि सबै दलका एजेन्ट उठेर बाहिर गइदिन्छौं भन्न थाले । त्यही विषयले समस्या पर्नुभन्दा सबै दलको सहमतिमा निरक्षर महिलाको मत चाहेको व्यक्तिलाई हाल्न दिने सहमती गरेका हौं, अर्का मतदान अधिकृतले भने ।
स्थानीयले महिलाको मत पुरुषले हालेको बताए पनि कतिपय मतदान अधिकृत र राजनीतिक दलका प्रतिनिधिहरुले भने आफुहरुको मतदान केन्द्रमा त्यसो नभएको भन्दै कुरा लुकाए ।
स्थानीय तहको निर्वाचन एकै जना ब्यक्तिले ७५÷८० जना महिलाको मत खसालेका भए पनि अहिलेको निर्वाचनमा भने त्यति धेरै मत एकैजनाले नहालेको स्थानीय नरेन्द्र बोहराले बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचनमा पढेलेखेका महिलाहरुलाई समेत आफ्नो भोट हाल्न दिएका थिएनन् । अहिले केही महिलाहरुले आफैँले मत हाल्न पाएका छन् ।’
मतदाता शिक्षा प्रभावकारी नभएका कारण यहाँका महिलाहरुले आफ्नो मत आफै हनल्न नपाएको मष्टा गाउँपालिकाका स्थानीय हरि धामी र नागरिक समाजका अगुवा धर्मजंग बहादुर सिंहको भनाइ छ ।
‘महिलाहरुलाई राम्रोसँग भोट हाल्न सिकाएको भए सबै महिलाहरुले आफ्नो भोट आफैँ हाल्न सक्थे होला,’ नागरिक समाजका अगुवा सिंहले भने, ‘स्क्रिन टच भएका मोबाईल चलाउन सक्ने, अन्य सबै काम गर्न सक्ने, भोट हाल्न नसक्ने भन्ने हुँदै हुँदैन ।’
प्रतिक्रिया दिनुहोस्