
नियामक निकायको बेवास्ताका कारण पूर्व पश्चिम राजमार्गसँग जोडिने २६ मिलोमिटर नवलपुर–मलंगवा र ४२ किलोमिटर नयाँरोड-मधुवनी सडक निर्माण अलपत्र परेको हो ।
सडक मर्मतमा ढिलो हुँदा धुलोका कारण सडक आसपास घर भएका स्थानीय बासिन्दा र विभिन्न काम लिएर सदरमुकाम मलंगवा ओहोरदोहोर गर्नुपर्ने सर्वसाधारण मारमा परेका छन् ।
ठेकेदारले विभिन्न बहानामा मर्मतको काम रोकेपछि यी दुबै सडकको अवस्था जीर्ण बनेको हो ।
ठेक्का लागेको महिनौं हुँदा पनि काम नहुँदा दुबै सडक भएर यात्रा गर्न निकै कष्ट ब्यहोर्नु परेको गुनासो यात्रुले गरेका छन् ।
सडकमा ठुल–ठुला खाल्डाखुल्डी भएकाले दैनिकजसो सवारी दुर्घटना बढेका छन् भने सदरमुकामबाट गम्भीर किसिमका बिरामीलाई अन्यत्र उपचार गर्न लानुपरे समस्या परेको छ ।
वर्षौदेखि बिग्रिएर जीर्ण बनेको यी दुई सडक मर्मतका लागि वर्षैपिच्छे ठेक्का लागे पनि काम पूरा नहुँदा जिल्लावासी हिउँदमा धुलो र बर्खायाममा हिलोको मार खेप्न बाध्य भएका छन् ।
यही सडक कालोपत्रे गर्ने झूठा आश्वासन दिँदै धेरै नेता सत्ता सम्हाल्न पुगेपनि सडकको अवस्था भने सुधार भएको छैन ।









प्रतिक्रिया दिनुहोस्