Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


७६ घरपरिवारले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा पाएनन्


0
Shares

विराज रोस्यारा/ईमेज

कैलाली । कैलालीको कैलारी गाउँपालिकाअन्तर्गत शिवरत्नपुर गाउँका ७६ घरपरिवारले आफूहरुले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा अझै पाउन सकेका छैनन् ।

पटकपटक प्रयास गर्दासमेत लालपूर्जा नपाउँदा आफूहरु सरकारी सेवा सुविधा पाउनबाट बञ्चित भएको गुनासो उनीहरुको छ ।

स्थानीय जनप्रतिनिधिले भने कानुनी अड्चनका कारण लालपूर्जा दिलाउन समस्या भइरहेको बताएका छन् । 

नेपाल–भारत दशगजा सीमा नजिकैको कैलालीको शिवरत्नपुर गाउँमा बस्ती बसेको ४० वर्ष भइसक्यो तर यहाँका स्थानीयले अझै पनि सुकुम्बासीसरह जीवन बिताइरहेका छन् ।

लालपुर्जा पाउनका लागि पटक पटक विभिन्न निकायमा नधाएका पनि होइनन् तर पनि उनीहरुको समस्या ज्यूँकात्यूँ छ ।

घरजग्गाको लालपुर्जा नहुँदा सरकारी सेवा सुविधाबाट समेत बहिर्गमित बन्नुपरेको छ ।

लालपूर्जा अभावमा सरकारले विभिन्न क्षेत्रमा दिँदै आएको अनुदान, ऋण सहयोगलगायतका सुविधा पाउन नसकेको स्थानीय कमल प्रसाद चौधरीको गुनासो छ ।

यसअघि लालपूर्जा दिने भन्दै गाउँलेबाट १० वर्षको राजस्व असुली नापी नक्सा, कित्ताकाट लगायतका काम भएका थिए तर त्यसले मूर्त रुप लिन भने सकेन । गाउँपालिकाले वितरण गरेको सोलार पनि उनीहरुले पाउन सकेका छैनन्  ।

भोट माग्ने बेला नेताहरुले लालपुर्जाको समस्या समाधान गरिदिने आश्वासन दिएपनि त्यो सबै निराशामा परिणत भएको स्थानीय बुद्धिजीवी चौधरी बताउँछन् ।

यता, स्थानीय जनप्रतिनिधि भने लालपूर्जा दिलाउने प्रयास गरिरहेको भएपनि समस्या भइरहेको बताउँछन् ।

प्रदेश सरकारले भूमिसम्बन्धी ऐन नबनाउँदा लालपूर्जा वितरणको काम अड्किए पनि आफूहरुले लाजपुर्जा विहीनहरुको तथ्यांक संकलनको काम सुरु गर्न लागेको  कैलारी गाउपालिकाका अध्यक्ष लाजुराम चौधरीको भनाइ छ ।