
मंसिर १० र २१ गते दुई चरणमा गरी भएको निर्वाचनमा राष्ट्रिय राजनीतिमा परिचित हस्तीहरुसमेत पराजित हुन पुगेका छन् । पराजितमध्ये अधिकांश नेपाली कांग्रेसका हस्ती छन् ।
पार्टीभित्र दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि यो निर्वाचन पीडा बोकेर आयो । उनी पराजित भएका छन् ।
२०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका पौडेल यसपटक भने नेकपा एमालेका किसान श्रेष्ठसँग भारी मतान्तरले पराजित भए ।
यस्तै, नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित हुँदा पूर्वअर्थमन्त्री डा. रामशरण महत र प्रभावशाली नेता अर्जुननरसिंह केसी नुवाकोटबाट पराजित हुनुपर्यो ।
कांग्रेसका अर्का प्रभावशाली नेता विमलेन्द्र निधि राजपा अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोसँग धनुषाबाट पराजित भए ।
यस्तै, पूर्वमन्त्री महेश आचार्य, बलबहादुर केसी र नवीन्द्रराज जोशी, निवर्तमान अर्थराज्यमन्त्री उदयशमशेर राणा र प्रकाशशरण महत पनि पराजित भए ।
सुर्खेतमा कांग्रेसका पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्का पराजित हुँदा मोरङमा केन्द्रीय नेता डा. शेखर कोइराला एमालेका उम्मेदवार लालबाबु पण्डितसँग पराजित भए ।
वाम गठबन्धनका लागि सूत्रधार मानिएका र देशैभर आफ्नो सूत्रअनुसार निर्मित वाम गठबन्धनको लहर चलिरहँदा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमका लागि यो निर्वाचन मुटुमा रोप्ने सियो बनेर आयो ।
उनी बर्दियामा नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमसँग पराजित हुनुपरेको पीडा व्यहोर्दैछन् ।
उसैगरी माओवादी केन्द्रतर्फ वाम गठबन्धनका अर्का सूत्रधार नेता नारायणकाजी श्रेष्ठ गोरखा–२ बाट पूर्वसहकर्मी नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित हुनुपर्यो ।
यस्तै, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा सिन्धुपाल्चोकबाट पराजित हुँदा राप्रपाका अध्यक्ष कमल थापा मकवानपुरबाट पराजित भए ।
राप्रपा प्रजातान्त्रिकका नेताहरु सुनीलबहादुर थापा, दीपक बोहरासमेत वाम गठबन्धनको बाढीमा परे ।
आइतबार साँझसम्मको मतपरिणामले कांग्रेस प्रत्यक्षतर्फ तेस्रो हुँदै इतिहासमै खराब अवस्थामा खुम्चिएको छ । यतिमात्र नभइ प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम आउनेबेलासम्म नेपाली कांग्रेसका थप चर्चित हस्तीको पराजयको संख्या बढ्दै जाने देखिएको छ ।
कांग्रेसभित्रको यो पहिरो देखेकाहरु तत्काल पार्टी संगठन पुनःसंरचनाको आवश्यकता औंल्याउन थालेका छन् । स्वयं पार्टी सभापति शेरबहादुर देउवाका अघिल्तिर गम्भीर नैतिक प्रश्न खडा भएको छ, पार्टी जोगाउने वा आफ्नो पद भन्नेमा ।
प्रतिक्रिया दिनुहोस्