Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


माडीलाई ‘मणि’ बनाउने सपना अब साकार हुन्छ : दाहाल


0
Shares

माडीको बरुवामा बुधबार आयोजित विजयीसभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि भएको बताए ।

देश र जनतालाई अहिले विकासको आवश्यकता छ भन्दै उनले जनतामाझ आफूले गरेका प्रतिबद्धता पूरा गरिछाड्ने बताए ।

आफूले निर्वाचनको समयमा माडीलाई ‘मणि’ बनाउने सपना देखेको बताउँदै अब त्यो सपना साकार हुने प्रतिबद्धता व्यक्त गरे ।

माडीमा रिङरोड निर्माण गर्ने, पर्यटकीय केन्द्र बनाउने, चितवन र माडीको विकासका लागि सधैं प्रतिबद्ध रहने, कृषि, पर्यटन र पूर्वाधार विकासका दृष्टिकोणले जनताले अनुभूति गर्ने गरी काम गर्ने अध्यक्ष दाहालले उल्लेख गरे ।

माडी क्षेत्रमा नदी कटान नियन्त्रणका लागि ‘रिभर म्यानेजमेन्ट मास्टर प्लान’अन्तर्गत् काम गर्ने बताउँदै उनले जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि पर्खालसहितको ‘मेसजाली’ निर्माण गर्ने बताए ।

निर्वाचित भएपछि भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर–३ मा पर्ने विभिन्न वडामा घरदैलो गरी मतदातालाई धन्यवाद दिएका दाहालले बुधबार माडीका विभिन्न वडामा घरदैलो गर्दै मतदाताहरूलाई धन्यवाद दिएका थिए । रासस