Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


कुस्ती खेल्न मैदानमा गएपछि मुक्का हानाहान हुन्छ तर खेल सकिएपछि मुक्का हानिँदैन : ओली


0
Shares

बुधबार बालकोटस्थित आफ्नै निवासमा अध्यक्ष ओलीलाई विजयको बधाइ दिन आएका विभिन्न संघ–संस्थाका प्रतिनिधिलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने–‘नेपालमा आफ्ना हक–अधिकारको खोजीका लागि जनताले कहिले सशस्त्र क्रान्ति त कहिले जनआन्दोलन गरे पनि यसपालिको निर्वाचनमा भने देशको समृद्धि र विकासका लागि जनताले क्रान्तिकै शैलीमा अभिमत प्रकट गरेका छन् ।’

वाम गठबन्धनले स्पस्ट बहुमत प्राप्त गरे पनि विगतमा नेपाली कांग्रेसले गरेजस्तो प्रतिपक्षीप्रति आफू क्रुर नहुने भनाइ राख्दै उनले भने–‘प्रतिपक्षीलाई पनि साथमा लिएर अगाडि बढ्छौं ।’

चुनावका बेला प्रतिस्पर्धी भएकाले कांग्रेससँग केही घोचपेच गरिएको भएपनि अब त्यो अध्याय सकिएको ओलीको भनाइ थियो ।

अब देश निर्माणमा लाग्नुपर्ने भएकाले सबै शक्ति एकजुट भएर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।

ओलीले भने–‘कुस्ती खेल्न मैदानमा गएपछि एक–आपसमा मुक्का हानाहान हुन्छ, तर खेल सकिएपछि बाटोमा हिँडेका बेला मुक्का हानिँदैन । त्यसैले अब एमाले अन्य पार्टीसँग सहकार्य गरेर अघि बढ्छ, किनभने अब पाँच वर्षका लागि चुनावी प्रतिस्पर्धा सकियो ।’

आगामी सरकार क्षमताहीन मानिस थोपर्ने ठाउँ नहुने बताउँदै अध्यक्ष ओलीले भ्रष्टाचार नियन्त्रण र लोकतन्त्रलाई जीवन पद्धतिकारुपमा आत्मसात् गरी अघि बढ्न निजामती कर्मचारीलाई अध्यक्ष ओलीले आग्रह गरे ।

उनले भने–‘तपाइँहरुबाट जनताले सुशासनको अपेक्षा राखेका छन् । छिटो, छरितो र भ्रष्टाचारमुक्त सेवा दिएर जनतालाई सुशासनको अनुभूति दिनुहोस् ।’

‘ढुक्क भएर लगानी गर्नुहोस्’
त्यसैगरी, बालकोटमा बधाइ दिन आएको चेम्बर अफ कमर्सको टोलीलाई अध्यक्ष ओलीले अबको नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै निजी क्षेत्रको भूमिका त्यसैअनुसार हुनुपर्नेमा जोड दिए ।

उनले उद्योगी–व्यवसायीलाई ढुक्क भएर उद्योग कलकारखानामा लगानी गर्न सुझाव दिए ।

उनले भने–‘अब हड्ताल र बन्दको युग सकियो । अब उत्पादन, विकास र समृद्धिको युग सुरु भइसक्यो । त्यसैले ढुक्क भएर लगानी गर्नुहोस् ।’

ओलीलाई बधाइ दिन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा, आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल, चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको टोली बालकोटस्थित उनको निवासमा पुगेको थियो । रासस