भूकम्प गएको झन्डै तीन वर्ष पुग्नलाग्दा पनि पुरातात्विक महत्वका त्यस्ता सम्पदाको अझै पुनःनिर्माण हुन सकेको छैन ।
विश्वभरका हिन्दूहरुको आराध्यदेव पशुपतिनाथको मन्दिर परिसरमा भूकम्पले क्षति पुर्याएका सम्पदाको पनि पुनःनिर्माण उस्तै सुस्त गतिमा चलिरहेको छ ।
२०७२ साल वैशाख १२ गतेको भूकम्पले पशुपतिनाथ परिसरका मन्दिर देवालयहरुमा क्षति पुर्याएपछि यहाँ पुग्ने पर्यटकको संख्यामा पनि निकै कमी आयो । पशुपति विकास कोषले ढिला गरी थालेको पुनःनिर्माण पनि निकै सुस्त छ ।
शंकरनारायण सत्तल, वनकाली सत्तल, सुरेशकान्त मन्दिर, गुह्वेश्वरी चौघेरा सत्तल, कोटी लिंगेश्वर मन्दिरलगायत १३ ओटा सम्पदाको अहिले पुनःनिर्माण भइरहेको छ ।
भूकम्पले पशुपति क्षेत्रमा रहेका जम्मा ३५ सम्पदा लगभग भग्नावशेषकारुपमा परिणत गरेको थियो । क्षति पुगेका संरचना बनिसक्न अझै तीन वर्ष लाग्ने कोषले जनाएको छ ।
नेपाल सरकार, पुनःनिर्माण प्राधिकरण र केही दातृ निकायको सहयोगमा यी संरचनाहरु बनाउने काम भइहरेको छ ।
विश्वसम्पदा सूचीमा रहेको पशुपति क्षेत्रका सम्पदा पुनःनिर्माण गर्दा पनि युनेस्कोले तोकेको मापदन्ड पूरा गर्नुपर्छ । उक्त मापदन्डअनुसार पुनःनिर्माण गर्नुपर्ने भएकाले पनि बढी समय लागेको कोषका पदाधिकारीको तर्क छ ।
२४० हेक्टर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा छिमेकी राष्ट्र भारत, चीन, अमेरिका, युरोपलगायतका राष्ट्रबाट पर्यटक पशुपतिनाथको दर्शन र अवलोकन लागि आउने गरेका छन् ।
सरकारले भूकम्पले भत्किएका सम्पदाहरुको पुनःनिर्माण छिटो सकाउने बताएपनि काम गर्ने शैली भने निकै नै सुस्त छ ।









प्रतिक्रिया दिनुहोस्