
काठमाडौं, पुस ६ । नेपाली कांग्रेसमा पदाधिकारीको विवाद टुंगो लागेको छ । शीर्ष नेताहरुबीच आज बिहान भएको छलफलले पदाधिकारीको विवाद टुंगो लगाएको हो ।
शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार अब कांग्रेसमा सभापति, दुई जना उपसभापति, दुई महामन्त्री, ७ सहमहामन्त्री र कोषाध्यक्ष गरी १३ जना पदाधिकारी रहने छन् ।
कोषाध्यक्षबाहेक सबै निर्वाचित हुने व्यवस्था विधानमा राख्ने सहमति भएको छ ।
७ जना सहमहामन्त्री भने समावेशी सिद्धान्तका आधारमा चयन हुने व्यवस्था राख्ने सहमति भएको छ । योसँगै लामो समयदेखि देखिएको कांग्रेसको विधानसम्बन्धी विवाद टुंगो लागेको छ ।
आजै बस्ने केन्द्रीय समितिको बैठकले शीर्ष नेताहरुबीच भएको सहमति पारित गरेपछि महासमिति बैठकमा पेश गरिने बताइएको छ । महासमितिको बैठक काठमाडौंमा जारी छ ।
मुख्य विषय विधानको टुंगो नलाग्दा अलमलमा परेका महासमिति सदस्यहरु पनि अहिले सहमतिपछि केही उत्साहित भएका छन् । महासमितिमा विधान पेश नहुँदा अहिले यसअघि पेश भएका विभिन्न प्रतिवेदनमाथि छलफल केन्द्रीत भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्