पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकले संविधान, कानुनअनुसार राष्ट्रियसभा गठन हुनुपर्ने भन्दै अनावश्यकरुपमा राजनीति गर्न खोजिएको भन्दै जनादेशको सम्मान गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।
बैठकले राष्ट्रियसभा गठनसम्बन्धी देखिएको विवादको समाधान राजनीतिक सहमतिमा खोज्नुपर्ने निष्कर्ष निकाल्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले दिएको जनादेशलाई सम्मान गर्न आग्रह गरेको हो ।
‘राष्ट्रियसभा गठनसम्बन्धी विवाद राजनीतिक विषय हो । यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको छ । शीर्ष नेता बसेर सहमति खोज्नुपर्नेमा जोड दिएका छौं । त्यसैअनुसार अघि बढ्छौं’–बैठकपछि प्रवक्ता पम्फा भुसालले भनिन् ।
बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कूटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद प्रकट गरेको छ ।
बैठकले वाम गठबन्धन बनाएर चुनावमा होमिँदा परिणाम सकारात्मक आएको भन्दै पार्टी एकता र गठबन्धनलाई जनताले अनुमोदन गरेको ठहर गरेको छ ।
बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय गरेको प्रवक्ता भुसालले जानकारी दिइन् ।
उनले भनिन्–‘जनताले वाम गठबन्धन र पार्टी एकतालाई अनुमोदन गरिसकेका छन् । पार्टी एकता र सरकार गठन सँगसँगै अगाडि बढ्छ, अब पार्टी एकता कसैले रोकेर रोकिँदैन ।’
समानुपातिक निर्वाचन प्रणालीमा माओवादी केन्द्रको कम मत आउनुमा ६० प्रतिशतभन्दा बढी स्थानमा पार्टीको उम्मेदवार नहुनु र उक्त निर्वाचन प्रणालीकाबारेमा व्यवस्थित प्रचार नहुनु पनि मुख्य कारण रहेको ठहर बैठकले गरेको छ ।
बैठकमा नेताहरुले नेकपा एमालेसँगको एकता प्रक्रियाकाबारेमा धारणा राख्दै सैद्धान्तिक र सांगठनिक विषयमा स्पष्टताको आवश्यकतामा जोड दिए । रासस









प्रतिक्रिया दिनुहोस्