Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


प्रदेश–१ को राजधानी कहाँ ? (भिडियो)


0
Shares

प्रदेशको राजधानी आफ्नै क्षेत्रमा हुनुपर्ने भन्दै पूर्वी जिल्ला धनकुटा, सुनसरी र मोरङवासीले सडक तताउन थालेका हुन् ।

धनकुटा, सुनसरी र मोरङवासीले प्रदेश राजधानी आफ्नै जिल्लामा माग गरिरहँदा राजधानी नै तोक्ने हैसियतमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापा भने मौन छ ।

प्रदेश राजधानीका लागि उपयुक्त स्थान नै धनकुटा हो भनेर धनकुटेलीले सडक तताउँदा सुनसरी, मोरङवासी पनि उही रफ्तारमा माग गर्दैछन् । क्षेत्रीय सदरमुकाम पनि भएकाले राजधानी यही तोकिनुपर्ने तर्क धनकुटेलीको छ ।

मोरङ र सुनसरीवासी पनि के कम भन्दै प्रदेशको राजधानी नतोकिए आन्दोलन चर्काउने दाउमा छन् ।

प्रदेश राजधानीका लागि उपयुक्त संरचना र सुविधा भएकाले विराटनगरमा राख्नुपर्ने माग मोरङेलीको छ ।

मोरङबाट नवनिर्वाचित सांसदहरुले यसका लागि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र नै बुझाइसकेका छन् ।

मोरङकै गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको भवनमा अस्थायी प्रदेशको राजधानी राख्नसकिने भन्दै सुन्दर–हरैचावासीले माग गर्दैछन् ।

सुनसरीको इटहरीमा पनि प्रदेशको राजधानी राख्नुपर्ने भन्दै उद्योगी, व्यवसायी, बुद्धिजीवीले माग गरिरहेका छन् ।

सुनसरीकै धरान पनि प्रदेशको राजधानी आफैंकोमा हुनुपर्ने भन्दै दौडमा सामेल भएको छ ।

प्रदेशको राजधानीका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘लबिङ’ गर्न भन्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली काठमाडौंमा पुगेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सकिएलगत्तै प्रदेश राजधानीका लागि रस्साकस्सी सुरु भएको हो । यद्यपि, सरकारले भने अहिलेसम्म प्रदेशको पहिलो सभा कहाँ गर्ने भन्ने स्थान नै टुंगो लगाउन सकेको छैन ।

निर्वाचनको सबै परिणाम आएको २० दिनभित्र प्रदेशको पहिलो बैठक बसाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

सरकारले प्रदेशको पहिलो सभा गर्ने स्थान र प्रादेशिक राजधानीका लागि उपयुक्त संरचनाको खोजी गर्न गठित कार्यदलले भने धनकुटा, इटहरी, विराटनगर र गोठगाउँ पुगी त्यस स्थानको भौतिक संरचनाबारे अध्ययन गरेको थियो ।

कार्यदलले भौतिक संरचनाको हिसाबमा विराटनगर प्रादेशिक राजधानीका लागि उपयुक्त हुने प्रतिवेदन दिएको छ ।

प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभाको दुई तिहाइ बहुमतले निर्णय गरेअनुसार हुने संवैधानिक व्यवस्था छ ।

यसक्रममा धनकुटा, सुनसरीको इटहरी र मोरङको विराटनगरमध्ये कसले बाजी मार्ने हो त्यो भने हेर्न बाँकी नै छ ।

भिडियो हेर्नुहोस्