Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


राष्ट्रपतिसँग ओली, दाहालको भेटमा के भयो ?


0
Shares

वाम गठबन्धनमा आवद्ध दुई दल नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वसित बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा सम्पन्न भेटमा उनले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकासमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीले दिएको जानकारीअनुसार सो अवसरमा राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले जनताको आर्थिक एवं सामाजिक उन्नतिका लागि सहमतिका साथ काम गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।

‘लोकतन्त्रको मूल्य, मान्यता र परम्परालाई राजनीतिक दलहरुले राम्रोसित बुझ्नुभएको छ । सहमति, सहकार्य र एकताका आधारमा देशमा आर्थिक समृद्धि हासिल हुनेछ’–राष्ट्रपति भण्डारीले भनिन् ।

राष्ट्रपति भण्डारीसँगको भेटमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेता सुवास नेम्वाङ तथा नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

सो भेटमा राष्ट्रियसभाको निर्वाचनसम्बन्धी आवश्यक ऐनका विषयमासमेत कुराकानी भएको बताइएको छ ।

भेटपछि माओवादी केन्द्रका नेता श्रेष्ठले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा बधाइ दिएको राससलाई जानकारी दिए ।

राष्ट्रपतिले अगामी दिनमा राजनीतिक दलहरुले सहमति, सहकार्य र एकता गरी अगाडि बढ्ने विश्वास व्यक्त गरेको नेता श्रेष्ठले जानकारी दिए । रासस