१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


उपत्यकामा वायुप्रदूषणको मात्रा मापदन्डभन्दा धेरैमाथि, मर्निङवाक नै नगर्न सुझाव (भिडियो)


0
Shares

वातावरण विभागकाअनुसार उपत्यकाका अधिकांश स्थानमा वायुप्रदूषणको तह मापदन्डभन्दा धेरैमाथि पुगेको छ । त्यसमा पनि बिहानको समयमा बढी वायुप्रदूषण हुने गरेको छ ।

बिहानको समयमा हावामा धुलोको कण अत्याधिक मात्रामा देखिएकाले वातावरणविद्हरु ‘मर्निङवाक’ नै नगर्न सुझाव दिन्छन् ।

उपत्यकाको हावामा २.५ माइक्रोनभन्दा मसिना धुलोका कणको मात्रा विश्व स्वास्थय संगठनको मापदन्डभन्दा ५ गुणा बढी पाइएपछि चिन्ता बढेको छ ।

चिसो मौसममा बिहान ६ बजेबाट बढ्दै गएर वायुप्रदूषण ८ बजे उच्च हुने र मध्याह्न प्रदूषणको मात्रा कम हुने वातावरणविद् भूषण तुलाधरले जानकारी दिए ।

वर्षायाममाभन्दा चिसो समयमा वायुप्रदूषण बढ्नु स्वाभाविक भएपनि उपत्यकाको अहिलेको अवस्था निकै भयावह मानिएको छ ।

वर्षायाममा बन्द गरिने इँटाभट्टासमेत यही समयमा सन्चालन हुने तथा सवारी–साधन र कलकारखानाबाट निस्कने धुवाँ–धुलो नै वतावरण प्रदूषणको मूल कारण हो ।

सडक विस्तार र निर्माणको नाममा ठाउँठाउँमा भत्काइएका सडक पनि प्रदूषणको अर्को तत्व हो । वातावरण प्रदूषण न्यूनीकरणका लागि सरकारले तत्काल पहल थाले अझैपनि प्रदूषण नियन्त्रण गर्नसकिने तुलाधरको भनाइ छ ।

पछिल्लो समयमा काठमाडौंको हावामा २.५ माइक्रोग्रामभन्दा साना धुलोको कण बढ्दै गएको छ । ती कणमा क्यान्सर, मस्तिस्कघात र हृदयाघात गराउने रसायन रहेको र ती कण श्वास–प्रश्वासको बाटो हुँदै सीधै फोक्सोमा पुग्छन् ।

फोक्सो हुँदै रगतमा प्रवेश गर्छन् र रक्तसन्चार प्रणालीमार्फत् मुटुमा पुगेर जम्मा हुन्छन् । रगतमार्फत् नै मस्तिष्कमा जम्मा भएर मस्तिष्कघात पनि हुने तुलाधरको भनाइ छ ।

विश्व स्वास्थ संगठनको तथ्यांकअनुसार वर्षेनि नेपालमा १० हजारजनाको मृत्यु वायुप्रदूषणकै कारणले हुने गरेको छ ।

नाक, कान, घाँटी विशेषज्ञ डा. ढुण्डीराज पौडेलले उपत्यकाको वायुप्रदूषणको प्रत्यक्ष असर जनमानसको स्वास्थमा परिरहेको बताए ।

डा. पौडेलकाअनुसार धुवाँ र धुलोका कारण गर्भमा रहेका शिशुलाईसमेत असर परेको छ ।

वायुप्रदूषणले बालबालिकाको मस्तिष्कको विकासमासमेत असर पुर्‍याइरहेको भन्दै उनले धुलोका ठूला कणले रुघाखोकीमात्र लगाउने तर, साना कण भने धेरे नै हानिकारक हुने बताए ।

भिडियो हेर्नुहोस्