Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


बिजुली कम भएपछि भार व्यवस्थापनमा समस्या झेल्दै प्राधिकरण


0
Shares

गत वर्षदेखि देशव्यापीरुपमा नै विद्युत्भार कटौतीमुक्त गरिएको छ । तर, त्यसलाई निरन्तरता दिन दैनिकजसो नै प्राधिकरणको उच्च नेतृत्वले ‘पापड’ पेलिरहेको छ ।

प्राधिरकणकाअनुसार हाल दैनिक विद्युत् माग एक हजार ३८५ मेगावाटको हाराहारीमा छ । केन्द्रीय प्रसारणलाइनमा करिब ३०० मेगावाट विद्युत् अपुग हुँदै आएको छ । आन्तरिकरुपमा प्राधिकरणको करिब ३८०, निजी प्रवद्र्धकको २८० र भारतबाट ३७० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेको छ ।

प्राधिकरणले औद्योगिक करिडोरमा दैनिक तीन घन्टा विद्युत् कटौती गर्दै आएको छ । हाल नेपालको उत्पादित विद्युत् जडित क्षमता एक हजार १० मेगावाट रहेको छ । तर, हिउँदको समयमा कुल जडित क्षमताको करिब ५० प्रतिशतको हाराहारीमामात्रै विद्युत् उत्पादन हुने गरेको छ ।

माग र आपूर्तिबीचको सन्तुलन नमिल्दा विद्युत् व्यवस्थापनका लागि समस्या पर्दै आएको छ ।

पुराना संरचना र जीर्ण प्रसारणलाइन तथा वितरण प्रणालीका कारण देशका विभिन्न स्थानमा समस्या आइरहेको छ । भक्तपुरमा पछिल्लो दिनमा देखिएको समस्या त्यसैको उपज भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीको भनाइ छ ।

प्राधिकरणले सबस्टेसनको मर्मत, प्रसारणलाइनको मर्मत तथा नयाँ संरचना निर्माणमा जोड दिएर तत्कालको व्यवस्थापन गर्दै आएको छ । हिउँदको माग सम्बोधन गर्न प्राधिकरणले ४७० मेगावाट आयात गर्ने लक्ष्य राखेको छ ।

माग र आपूर्तिबीचको चर्को असन्तुलनका कारण विद्युत् वितरणमा समस्या आएको भन्दै सकेसम्म मिलाएर व्यवस्थापन गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

दसैंलगत्तै भक्तपुरको सबस्टेसनमा मुसा छिरेर प्रसारण प्रणाली अवरुद्ध गरायो भने शुक्रबार बाँकेको कुसुममा जंगलीहात्तीले प्रसारण प्रणालीमा क्षति पुर्‍याउँदा सुदूरुपश्चिम र मध्यपश्चिम क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या खडा गरेको छ ।

प्राधिकरणको ‘पावर बैंक’कारुपमा रहेको कुलेखानीमा गत वर्षभन्दा यस वर्ष बढी पानी जम्मा भएका कारण समस्या कम हुने प्राधिकरणको प्रक्षेपण छ ।

प्रसारणलाइन बिग्रँदा तथा अन्य आयोजनाबाट विद्युत् उत्पादनमा समस्या आउँदा चलाउने गरी कुलेखानीको पानी जम्मा गरेर राखिएको प्राधिकरणको भनाइ छ ।

भार व्यवस्थापनमा कुलेखानीको यस हिउँदमा महत्वपूर्ण सहयोग हुने कुलेखानी प्रथम आयोजनाका प्रमुख रामकुमार यादवको भनाइ छ ।

कुलेखानीमा हाल पानीको सतह एक हजार ५२४ मिटरमा रहेको छ । हिउँदभर ९२ मेगावाट विद्युत् उत्पादनका लागि उक्त परिणामको पानी उल्लेख्य रहेको प्राधिकरणको बुझाइ छ ।

यसै महिनाको अन्तिम साताबाटमात्रै कुलेखानी चलाउने योजनामा प्राधिकरण छ । कुलेखानी जलाशयका हाल दुईओटा विद्युत्गृहले विद्युत् उत्पादन गर्ने गरेको छ ।

कुलेखानी तेस्रो निर्माणमा संलग्न निर्माण व्यवसायीले समयमा काम नगर्दा थप १४ मेगावाट विद्युत् उत्पादन गर्ने पानी त्यत्तिकै खेर फाल्नुपरिरहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म कुलेखानी तेस्रोबाट विद्युत् उत्पादन गर्ने बताइएपनि सम्भावना कम रहेको बताइन्छ ।

यस्तै, काबेली करिडोर प्रसारणलाइन निर्माणमा भएको ढिलाइका कारण विद्युत् उत्पादन सुरु गर्ने तयारीमा रहेका तीन आयोजनासमेत समस्यामा परेका छन् ।

काबेली करिडोर प्रसारणलाइन निर्माण सम्पन्न भएको भए राष्ट्रिय प्रसारणलाइनमा ५७ मेगावाट विद्युत् थप हुने भएपनि प्राधिकरणले ध्यान नदिएको काबेली ‘बी’ एक आयोजनाका प्रमुख रमेशकुमार न्यौपानेको भनाइ छ ।

उता, प्रसारणलाइनको अभावमा दोलखाको सिप्रिङखोला जलविद्युत् आयोजनासमेत राष्ट्रिय प्रसारणलाइनमा जोड्न समस्या पैदा भएको छ । सो आयोजनाले १० मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । तीन मेगावाट विद्युत् माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रयोग गरिरहेको छ भने बाँकी विद्युत् खेर गइरहेको छ ।

चालू आवको ५ महिनामा निजी क्षेत्रका सात आयोजनाले ४० मेगावाट विद्युत् थप गरेका छन् । तर, हिउँदमा ती आयोजनालेमात्रै २० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन गरिरहेका छन् ।

हिउँदको समयमा नदीमा पानीको सतह घटेका कारण प्राधिकरणको ‘पावर बैंक’कारुपमा रहेका मुलुककै ठूलो जलविद्युत् आयोजना कालीगन्डकी ‘ए’ले ८० मेगावाटमात्रै विद्युत् उत्पादन गरिरहेको छ । सो आयोजनाको क्षमता १४४ मेगावाट छ ।

प्राधिकरणले साँझको समयमा बढी विद्युत् खपत गर्ने उपकरण नचलाउन आग्रह गर्दै विद्युत् व्यवस्थापनमा सहयोग गर्न गत वर्षजस्तै आग्रह गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबैको सहयोगले गत वर्षजस्तै यस वर्षको हिउँदमासमेत विद्युत् व्यवस्थापनमा आफूहरु सफल हुने बताए ।

प्राधिकरणले यस वर्ष नै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाएको २५ मेगावाटको सौर्यऊर्जा उत्पादन प्रणाली प्रक्रियामा देखिएको विवादका कारण रोकिन गयो ।

कुलेखानी तेस्रो आयोजनामा निर्माण व्यवसायीले धोका दिएपनि निर्माण सुरु भएको करिब ११ वर्षपछि ३० मेगावाट क्षमताको चमेलिया आयोजना निर्माण सम्पन्न भएको छ । सो आयोजनाका कारण सुदूर र मध्यपश्चिममा विद्युत् व्यवस्थापनमा सहयोग पुग्ने जनाएको छ ।