
‘अफ सिजन’मा पनि पर्यटक भित्र्याउन पोखराका रेस्टुरेन्ट व्यवसायीले सडक महोत्सवको तयारी गरिरहेका छन् । होटल व्यवसायीहरु पनि छुटसहितका आकर्षक प्याकेज बनाएर पर्यटकको पखाईमा छन् ।
यतिखेर आन्तरिक पर्यटकदेखि विदेशी पर्यटक पोखरामा छन् । क्रिसमस मनाउन आफ्नै देश फर्कने विदेशी पर्यटक पछिलो समय नेपालमै बसेर मनाउन थालेका छन् ।
पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला र संस्कृतिले आकर्षित गरेपछि बसाइँ लम्ब्याएर क्रिसमससँगै नयाँवर्ष पछिलो समय पर्यटकको रोजाइ हुँदै गएको छ ।
अफ सिजनमा पनि पर्यटक भित्र्याउन पछिल्लो समय रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले अंग्रेजी नयाँवर्षमा सडक महोत्सव आयोजना गर्दै आएको छ ।
सडक महोत्सवकै कारण क्रिसमससँगै अंग्रेजी नयाँवर्ष मनाउन विदेशी पर्यटक, नेपालमा कार्यरत् विभिन्न कूटनीतिक निकायका कर्मचारी र आन्तरिक पर्यटकले पोखरा रोज्ने गरेका छन् ।
अंग्रेजी नयाँवर्षका लागि पोखराका ठूला होटलहरुको होटल बुकिङ भइसकेको पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले बताए ।
नयाँवर्षको स्वागतका लागि व्यवसायीले होटल तथा रेस्टुरेन्ट झकिझकाउ पार्ने र विभिन्न छुटसहितका प्याकेज बनाएका छन् ।
रात्रिकालीन मनोरन्जन व्यवसायीले पाहुनालाई विभिन्न सेवामा विशेष अफर दिएको व्यवसायी योगेश भटट्राईले बताए ।
स्वदेशीमात्र नभइ विदेशी पर्यटकलाई लक्षित गरी पर्यटकीय क्षेत्रमा खुलेका गजल, लाइभ ब्यान्ड, क्लब, लाउन्ज रेस्टुराँ, डिस्कोमा पर्यटकको भीड लागेको छ ।
पोखरामा ६०० भन्दा बढी होटलमा दैनिक २२ हजार पाहुनालाई सेवा दिने क्षमता छ । पोखराको पर्यटनमा निजी क्षेत्रकोमात्रै एक खर्ब रुपैयाँभन्दा बढी लगानी पुगेको जनाइएको छ ।
घुमफिर र प्राकृतिक छटाहरुको अवलोकनबाहेक पछिल्ला केही वर्षयता पोखरा पाराग्लाइडिङ, बन्जीजम्प, अल्ट्रालाइट, क्यानोनिङजस्ता साहसिक खेल पर्यटनको गन्तव्यसमेत बनेको छ ।
प्रतिक्रिया दिनुहोस्