२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चालू आर्थिक वर्षको चार महिनाको आर्थिक स्थिति सार्वजनिक


0
Shares

केन्द्रीय बैंकले चालू आर्थिक वर्षको चार महिनाको आर्थिक स्थिति सार्वजनिक गर्दै तीनओटा सकारात्मक विकासक्रमले आगामी आर्थिक परिदृष्य निर्धारण गर्ने देखिएको जनाएको हो ।

निर्माणकार्यले गति लिएको, औद्योगिक उत्पादनको क्षेत्रमा क्रमिक सुधार भइरहेको र पर्यटन क्षेत्रमा सुधारका संकेत देखिएको राष्ट्र बैंकको विश्लेषण छ ।

व्यक्तिगत घर, होटल तथा जलविद्युत् परियोजनाहरुको निर्माण बढ्दोक्रममा रहेको छ । सिमेन्ट, आल्मोनियम बार, रडजस्ता निर्माण सामग्रीहरुको आयातमा भएको वृद्धिबाट निर्माणकार्यले तीव्रता लिएको प्रतिबिम्वित भएको केन्द्रीय बैंकको विश्लेषण छ ।

बैंकले हालै गरेको आर्थिक गतिविधि अध्ययनले पनि औद्योगिक क्षेत्रको क्षमता उपयोग बढेको देखाएको जनाएको छ । यसअन्तर्गत् सिमेन्ट, फलाम तथा स्टिल, जस्तापाता तथा तारजस्ता उद्योगहरुको उत्पादन उत्साहप्रद देखिएको जनाइएको छ ।

औद्योगिक कच्चापदार्थको आयात र उद्योगहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जाको विस्तारले औद्योगिक क्षेत्रको परिदृष्य सकारात्मक रहेको देखिएको जनाइएको हो ।

यस्तै, पर्यटक आगमनसँगै होटलहरुको ‘अकुपेन्सी’दरमा भएको वृद्धि एवं होटल निर्माणकार्यले लिएको गतिले पर्यटन क्षेत्रको सकारात्मक परिदृष्य इंगित गरेको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्ला महिनाहरुमा न्यूनस्तरमा रहेको मुद्रास्फीति भने कात्तिक महिनामा केही बढेर ३.९ प्रतिशत पुगेको छ । असोज महिनामा उपभोक्ता मुद्रास्फीति ३.१ प्रतिशत रहेको थियो ।

वि.सं. २०७४ कात्तिक महिनामा तरकारी, मदिराजन्य पेयपदार्थलगायतमा भएको मूल्यवृद्धिले समग्र वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीतिमा केही वृद्धि भएको राष्ट्र बैंकको भनाइ छ । अघिल्लो वर्षको यसै अवधिमा मुद्रास्फीति ४.८ प्रतिशत रहेको थियो ।

बाह्य क्षेत्रतर्फ निर्यातभन्दा आयातमा उच्चवृद्धिको अलावा विप्रषेण आप्रवाहमासमेत कमी आएकाले चालू खाता घाटामा गएको जनाइएको छ ।

तथापि, विदेशी विनिमय सञ्चिति पर्याप्त रहेकाले मुलुकको बाह्य क्षेत्रको अवस्था मजबुत् नै रहेको राष्ट्र बैंकले जनाएको छ ।