२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पार्टी एकतालाई असर पर्नेगरी म अल्मलिएर जिल्लामा बसेको छैन : दाहाल


0
Shares

कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले मंगलबार चितवनमा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदका सम्मानमा बधाई तथा शुभकामनाका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित सांसद दाहालले पार्टी एकतालाई अवरोध पुग्ने गरी जिल्लामा आफू अल्मलिएर नबसेको बताए ।

दाहालले भने, ‘म एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नै जिल्लामा आएको हुँ तर केही मिडियाले जिल्लामा नै अलमल गरेको भन्दै समाचार दिएका छन् । यसमा द्विविधा नहुनुहोस् । अब पार्टी एकता हुन्छ ।’

दुई तीन दिनसम्ममा निर्वाचन आयोगले सबै काम टुङ्ग्याउने भएकाले आफू जिल्ला आएको उनले स्पष्ट पारे ।

अर्को प्रसंगमा अध्यक्ष दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीचको भौतिक सम्पत्तिका विषयमा भएको विवाद आफूले सल्टाउने प्रयास गर्दै आएको बताए ।

पूर्वप्रधानमन्त्री दाहालले भने, ‘एउटा सेन्टर अफ एक्सिलेन्सका रुपमा यो विश्वविद्यालयलाई विकास गर्नुछ ।’

सो अवसरमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कृष्णभक्त पोख्रेलले सो विश्वविद्यालयलाई नमूना विश्वविद्यालय बनाउनुपर्ने बताए भने विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको अवस्थाका बारेमा जानकारी दिएका थिए । (रासस)