१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


अछाममा असुरक्षित गर्भपतन गराउने बढे, गैरकानुनी रुपमा औषधि बिक्री


0
Shares

बयलपाटा अस्पतालमा मात्र १० महिनाका अवधिमा आएका १५० महिलाको तथ्यांकले असुरक्षित गर्भपतन गराइरहेको पुष्टि गरेको छ ।

अस्पतालमा आएका महिलाको संख्या भनेको गाउँमा औषधि पसल एवं क्लिनिकले गैरकानुनी रुपमा गर्भपतन गर्नका लागि औषधि खुवाउँदा असफल भएपछि अन्त्यमा अस्पताल पुगेकाहरुको हो ।

अस्पतालका मेडिकल अधिकृत डा.विकास गौचनले गाउँमै मेडिकलको औषधि सेवन गरेर राम्रोसँग गर्भपतन नहुँदा तथा स्वास्थ्यमा अन्य समस्या परेर अन्तिम अवस्थामा मात्र महिला अस्पताल आउने गरेको जानकारी दिए । ‘पहिलो कुरा त मेडिकलले गर्भपतन गराउने औषधि बिक्री गर्न नै पाउँदैनन् त्यसैमा औषधिले काम गर्ने भनेको नौ हप्तासम्मको मात्र गर्भ हो, उनीहरु ननापेर अनुमानका भरमा औषधि दिन्छन्’ डा.गौचनले भने, ‘मेडिकलले सेवाभन्दा पनि औषधि बेचेर पैसा कमाउने सोचले कम गुणस्तरको औषधि दिने गरेको भेटिएको छ ।’

गाउँमा औषधिले राम्रोसँग काम नगरेपछि अस्पतालमा आएका महिलाको तथ्यांक हेर्दा उनीहरु प्रायः जिल्लाका दुर्गम गाउँका छन् जहाँ सरकारले सरक्षित गर्भपतन सेवाको पहुँच सहज रुपमा पुर्‍याउन नसकेको देखिन्छ । एकातर्फ सुरक्षित गर्भपतन सेवाबारेमा ग्रामीण भेगका सबै महिलामा जानकारी नहुनु तथा अर्कातर्फ सेवाप्रदायक सस्थासँग सहज पहुँच नहुनु जस्ता कारणले महिलाले गाउँकै निजी मेडिकलबाट औषधि सेवन गर्नुपर्ने बाध्यता सिर्जना भएको देखिन्छ ।

गैरकानुनी रुपमा मेडिकलमा गर्भपतन गराउने औषधिको बिक्री वितरण भइरहेको देखिए पनि राज्यका निकायबाट प्रभावकारी अनुगमन हुन सकेको देखिँदैन । गैरकानुनी रुपमा गुणस्तरहीन औषधि बेचेर गर्भपतन गराउने महिलाको जीउज्यानसँग जोडिएको महत्वपूर्ण विषयमा पनि राज्यले खासै ध्यान नदिएको डा.गौचनले गुनासो गरे ।

अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउनाका साथै सेवा प्रदायक सस्थाको संख्या बढाउँदै लग्नुपर्नेमा उनको जोड छ ।

हाल जिल्ला अस्पताल मंगलसेन, बयलपाटा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र चौरमाडौं र कमलबजार, स्वास्थ्य चौकी मेल्लेख, विनायक, जयगढ, दुनी, हिच्मा, जुपु, शान्तडा, तुर्माखाँद र बारलामा सुरक्षित गर्भपतन सेवा सुरु भएको छ ।

सुरुमा जिल्ला अस्पताल र बयलपाटा अस्पतालमा मात्र सुरु गरिएको सुरक्षित गर्भपतन सेवा अहिले विस्तार भएर जिल्लाका १३ स्वास्थ्य संस्थाबाट सन्चालित छ । तीमध्ये जिल्ला अस्पताल, बयलपाटा अस्पताल, प्राथमिक केन्द्र चौरमाडौं र कमलबजारमा नौ महिनासम्मको औषधि तथा १२ हप्तासम्मको भ्याकुमको माध्यमले गर्भपतन गर्ने सेवा छ भने बाँकी नौ स्वास्थ्य संस्थामा नौ महिनासम्मको गर्भ औषधिको माध्यमले पतन गर्ने सेवा छ ।

७५ ओटा स्वास्थ्य संस्था रहेको अछाममा १३ संस्थामा मात्र सुरक्षित गर्भपतन सेवा हुँदा भौगोलिक विकटताका कारणले अधिकांश महिलाको ती सूचीकृत स्वास्थ्य संस्थामा सहज पहुँच हुन सकेको छैन जसका कारणले उनीहरु गर्भ रहेमा पतन गर्नका लागि निजी मेडिकलकै औषधिको प्रयोग गर्न बाध्य हुने गरेका छन् ।

बयलपाटा अस्पतालमा यीबाहेक १८ हप्तासम्मको गर्भपतन गर्ने सेवा पनि दिइएको छ । बच्चा अपांग जन्मिन सक्ने, आमाको ज्यानै जोखिममा हुने, हाडनाता करणी तथा जबर्जस्ती करणीबाट रहेको गर्भलाई मात्र यस्तो अवस्थामा पतन गर्न मिल्ने कानुनी व्यवस्था छ ।

हालै मात्र सुरु भएको सो सेवाबाट पनि तीन महिला लाभान्वित भइसकेको अस्पतालले जानकारी दिएको छ । पछिल्लो करिब तीन वर्षका अवधिमा अछाममा करिब २ हजार ६०० ले सुरक्षित गर्भपतन सेवा लिइसकेका छन् ।