१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


मिर्गौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता


0
Shares

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले यस्ता बिरामीको दैनिक जीवनयापन सहज बनाउन पाँच हजार रुपैयाँका दरले जीविकोपार्जन भत्ता दिने निर्णय गरेको हो ।

अहिले सरकारले क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीलगायतका जटिल रोगबाट पीडित बिरामीको उपचारमा सहुलियत दिँदै आएको छ । स्वास्थ्य मन्त्रालयले यी बिरामीका लागि दिने रकमको जोहो चुरोट तथा सूर्तीजन्य पदार्थ र मदिरामा थप कर लगाई व्यवस्थापन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

सरकारले हाल क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीलाई उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्दै आएको छ । यस्तै, मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलाइसिस र प्रत्यारोपण गर्नुपरेमा प्रत्यारोपण गर्ने अस्पताललाई ४ लाख र बिरामीलाई प्रत्यारोपण अगाडि परीक्षणका लागि ५० हजार र प्रत्यारोपणपछि औषधि उपचारका लागि एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

यसैगरी मन्त्रिपरिषदले स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई नियुक्त गरेको छ । मन्त्रालयकी प्रमुख विशेषज्ञ चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले नेपालको व्यवसायिक शिक्षा र तालिमका लागि विश्व बैंकले दिन लागेको ६ अर्ब २१ करोड ऋण स्वीकार्ने निर्णय पनि गरेको छ । यस्तै, काठमाडौं विश्वविद्यालयका लािग कोरिया सरकारले दिन लागेको १ अर्ब ४ करोड रुपैयाँ लिन स्वीकृति पनि प्रदान गरिएको छ ।