
पार्टी एकताको जनादेश प्राप्त भइसकेकाले केही नेतालेमात्र आफ्नो ठाउँ खोज्न अनावश्यक हल्ला चलाइरहेको र मूल नेतृत्व पार्टी एकतामा दृढ रहेको दाबी गरिएको छ ।
एमाले र माओवादी केन्द्रले पार्टी एकता नै गर्ने भन्दै गठबन्धन बनाएर चुनावमा होमिएका थिए । परिणाम गठबन्धनका पक्षमै देखियो । देशभर चुनावी उभार देखियो पनि ।
तर, निर्वाचन परिणाम सार्वजनिक भएपछि जुनरुपमा पार्टी एकताका लागि नेताहरुले समय दिनुपर्ने थियो, त्यो नहुँदा आशंका गर्नेहरुले मौका पाए । केही नेताले आफूलाई केन्द्रमा राखेर अभिव्यक्ति पनि दिन थाले ।
पार्टी एकताका लागि गठित एकता संयोजन समितिको बैठकसमेत बस्न सकेको छैन । जसले आशंका गर्नेहरुलाई मलजल पुगेको छ ।
बरु, यो बीचमा एमालेइतरको सरकार बनाउन माओवादी नेतृत्व लागेको तथा माओवादीबिनै सरकार बनाउन एमाले नेतृत्वले चलखेल गरेको कुरा पनि आए । तर, हल्लामा आएका सबै कुरा मनगढन्ते रहेको एमाले र माओवादी नेतृत्वनिकटका नेता बताउँछन् ।
पार्टी एकताका लागि मूल नेतृत्व दृढ रहेको दुवै पार्टीका नेताको भनाइ छ । एकता प्रक्रियामा भने दुवै पक्षका अलग मत छन् ।
पार्टी एकता बढीमा वर्षभित्र टुंग्याइसक्नुपर्ने माओवादीको मत छ भने एमाले एकता हुन दुई/तीन वर्ष लाग्नसक्ने बताउँछ ।
निर्वाचन आयोगले परिणाम दिइ नसकेकाले औपचारिक परिणामको प्रतिक्षामा रहेका दुवै दलका नेताहरु सरकार निर्माणका विषयमा खासै तयारी नगरेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्