२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


फस्टाउन थाल्यो रुद्राक्ष खेती, प्रति परिवार तीस लाख रुपैयाँसम्म कारोवार(भिडियो)


0
Shares

धार्मिक तथा स्वास्थ्यका हिसाबले अति महत्वपूर्ण मानिएको रुद्राक्ष दानाको माग बढेसँगै धनकुटामा व्यवसायीक खेतीको लहर चलेको हो ।

कुनै बेला खाद्यवालीको पकेट क्षेत्र मानिने धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.७ लुम्लिङ अहिले रुद्राक्ष दाना उत्पादन पकेट क्षेत्रको रुपमा चिनिन थालेको छ ।

केही दशक अघिसम्म खाद्यवालीको खेती हुने गरेको यहाँका जमिन अहिले रुद्राक्षको विरुवाले ढाकिएका छन् ।

धार्मिक तथा स्वास्थ्यका हिसावले अति महत्वपूर्ण मानिएको रुद्राक्ष दानाको माग वढेसँगै यहाँका किसानले व्यवसायिक खेती सुरु गरेका हुन् ।

२०३२ सालमा भोजपुरको दिङ्लावाट रुद्राक्षको विरुवा ल्याएर गाउँमा खेतीको सुरुवात गर्नु भएका अगुवा किसान चन्द्र केसीले हाल चार सय रुद्राक्षका विरुवा खेती गरेका छन् । 

हाल रुद्राक्ष दाना विक्रीवाटै सबै घरखर्च टर्ने गरेको केसी बताउँछन् ।

हाल सो गाँउका १ सय ४० घरपरिवारले रुद्राक्ष खेती गर्दै आइरहेका छन् । यहाँका किसानले घटीमा पाँच वोट देखि ४ सय वोटसम्म रुद्राक्षका विरुवा लगाएका छन् ।

रुद्राक्षबाट बार्षिक प्रति परिवारले एक लाखदेखि तीस लाख रुपैयाँसम्मको कारोवार गर्ने गरेका छन् ।

खाद्यवालीको भन्दा रुद्राक्ष खेतीवाट दोब्वर फाइदा तथा खेती गर्न सहज हुने भएकाले यो खेती तर्फ कृषक आकर्षित भएको स्थानीय नेत्र अधिकारी बताउँछन् ।

रुद्राक्ष खेतीलाई अरु वालीको जस्तो स्याहार सुसार गर्नु नपर्ने, सिचाई नचाहिने, सुख्खा ठाउँमा गर्न सकिने तथा ब्यापारी घरघरमै किन्न आउने भएकाले रुद्राक्ष खेती नगदे वालीको रुपमा परिणत भएको हो ।

लुम्लिङका किसानले जस्तै अन्य क्षेत्रका वासिन्दाले अनुसरण गरे रुद्राक्ष खेती आर्थिक उपार्जनको गतिलो माध्यम वन्ने थियो ।

(भिडियो)