
समुदायसँग मिलेर ‘महिनामा एक दिन ट्राफिक व्यवस्थापनलाई’ भन्ने अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।
समुदायलाई दैनिकरुपमा सहभागी गराउन पाए सचेतना बढ्न सक्छ भन्ने उद्देश्यले यो कार्यक्रम शुरु गरिएको उनले बताए ।
उक्त अभियानमा हरेक दिन एउटा संस्थालाई सहभागी गराइन्छ । यसरी महिनाको ३० दिन नै फरक फरक संघसंस्थासँग मिलेर प्रहरीले ट्राफिक सचेतना कार्यक्रम चलाउँदै आएको छ । आज बिहान नेपालमैत्री समाजसँग मिलेर ट्राफिक सचेतना कार्यक्रम गरिएको हो ।
‘दुर्घटनालाई लगाउँ ताला, जप्दै हिँडौँ सुरक्षाको माला, मापसे गरेर सवारी साधन नचलाऔँ, हर्न नबजाऔँ, ध्वनि प्रदूषणबाट बचौँ र बचाऔँ, कम गति जीवन रक्षा’लगायतका नारासहित भरतपुरको नहरचोकमा आज बिहान उक्त सचेतना कार्यक्रम भएको थियो ।
समाजका अध्यक्ष वीरेन्द्र पौडेलले सवारी नियमको पालनका लागि जनचेतना दिन प्रहरीसँग मिलेर कार्यक्रम गर्ने गरिएको बताए ।
यसअघि मंगलबार ट्राफिक प्रहरीले बेटर चितवन नामको संस्थासँग मिलेर सचेतना कार्यक्रम गरेको थियो भने भोलि पारिजात महिला समूहसँग मिलेर सो कार्यक्रम गरिने भएको छ ।
‘अरुका लागि महिनामा एकदिन, हामी प्रहरीका लागि ३६५ दिन नै ट्राफिक सचेतनाका लागि हो,’ प्रहरी निरीक्षक पन्तले भने । उक्त कार्यक्रम वे ग्रुप, लायन्स, रोट्राक्ट, रोटरी क्लब, सामर्थ नेपाल, आमा समूह, महिला समूहलगायत संघसंस्थाको सहकार्यमा दैनिकरुपमा हुने गरेको छ ।
ट्राफिक प्रहरीका अनुसार चितवनमा नियमित सचेतनामूलक कार्यक्रम भइरहेको भए पनि नियम उल्लंघन र कारबाहीको क्रम भने न्यूनीकरण हुन सकेको छैन । मासिकरुपमा करिब पाँच हजार सवारी साधनलाई कारबाही हुने गरेको र त्यसबाट रु २५ देखि ३० लाख राजश्व संकलन हुने गरेको उनले बताए ।
प्रहरी निरीक्षक पन्तका अनुसार चालू आवको अहिलेसम्म नियम उल्लंघन गर्ने सवारी साधनलाई गरिएको कारबाहीबाट कूल रु एक करोड १३ लाख राजश्व संकलन भइसकेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्