१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


चितवनबाट दाहालको उद्घोष–‘नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण’


0
Shares

प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले बिहीबार संयुक्तरुपमा भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार गठनको बाटो खुलिसकेकोले दुवै दलका नेताहरु पार्टी एकीकरणमा केन्द्रित भएको जिकिर गरे ।

अध्यक्ष दाहालले पार्टी एकीकरणका विषयमा एमाले र माओवादी केन्द्रमा कुनै मतभेद नभएको भन्दै आजसम्म भएका छलफलहरु सकारात्मक रहेको पनि दाबी गरे ।

उनले दुवै पार्टीका नेताहरुलाई समूचित भूमिका दिनेमा यसअघि नै सहमति भएकाले कुनै विवाद नभएको प्रस्ट पारे ।

अहिले सुशासन, समृद्धि र राष्ट्रिय एकताका विषयमा जोड दिइएको उल्लेख गर्दै उनले नेतृत्वका विषयमा गम्भीर छलफल भइरहेको बताए ।

दाहालले राष्ट्रियसभा निर्वाचनको मिति, प्रदेशप्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने जिम्मा बिहीबार काठमाडौंमा बसेको प्रमुख दलको बैठकले सरकारलाई नै दिएको बताए ।

उनले सरकारले संविधानको भावनाअनुरुप प्रदेशप्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने उल्लेख गरे ।

अहिलेको निर्णय तुरुन्तै प्रदेशसभाले फेर्न पनि सक्ने भएकाले यसलाई ठूलो विषय बनाउनु जरुरी नभएको दाहालको भनाइ थियो ।

उनले राष्ट्रियसभा निर्वाचनलगत्तै नयाँ सरकार गठन हुने पनि बताए ।

चितवन उद्योग संघको अधिवेशन र भरतपुर महानगरपालिकाको नगरपारिषद उद्घाटन गर्न दाहाल चितवन आएका हुन् । उनी शनिबारसम्म चितवनमा रहने कार्यक्रम रहेको जनाइएको छ ।