१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


‘वीरगन्जमा प्रदेश–२ को राजधानी नबनाएसम्म आन्दोलन’


0
Shares

प्रदेश नम्बर–२ को राजधानी वीरगन्जमा बनाउन माग गर्दै सत्तारुढ दल नेपाली कांग्रेस, प्रतिपक्षी नेकपा एमालेसहितका स्थानीय नेता तथा नागरिक समाजका अगुवाहरुले बिहीबारदेखि आन्दोलन थालेका थिए ।

प्रदेश राजधानीको माग राख्दै आन्दोलनमा रहेको संघर्ष समितिले शुक्रबार बिहानदेखि वीरगन्जको घन्टाघरमा रिले अनशन सुरु गरेको हो ।

रिले अनशनको पहिलो दिन पूर्वमन्त्री एवं कांग्रेसका नेता सुरेन्द्र चौधरी, एमालेका नेता बसरुद्धिन अन्सारी, शम्भु गुप्ता, मधेसवादी नेता ओमप्रकाश सर्राफ, माओवादी नेत्री दुर्गा क्षत्री, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाइँ, रञ्जु दाहाललगायत नेताहरु अनशनमा बसेका छन् ।

रिले अनशनमा बसेका सबैलाई वीरगन्ज महानगपालिकाका मेयर विजय सरावगीले माला लगाएर अनशन सुरु गराएका थिए ।

महानगरपालिकाको बोर्ड बैठकलेसमेत जुनसुकै हालतमा वीरगन्जमा प्रादेशिक राजधानी बनाउन पहल गर्ने निर्णय गरिसकेको मेयर सरावगीले जानकारी दिए ।

वीरगन्जमा प्रदेश–२ को राजधानी नबनाएसम्म आन्दोलन जारी रहने एमाले नेता शम्भु गुप्ताले बताए ।

‘वीरगन्ज राजधानीका लागि सबै कुराले सक्षम छ भन्नेमा हामी विश्वस्त छौं, मधेस आन्दोलनको केन्द्र पनि वीरगन्ज नै थियो’–उनले भने–‘वीरगन्जलाई राजधानी घोषण नगरेसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

यस आन्दोलनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विजय हासिल गरेका मधेसवादी दलका नेताहरुको भने उपस्थिति रहेको छैन ।