
‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने नारासहित खिचरा महोत्सव यही पुस २८ देखि माघ ८ गतेसम्म चितवनको खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा आयोजना हुन लागेको हो ।
आयोजक थारु कल्याणकारिणीसभा क्षेत्र नम्बर–७ ले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।
महोत्सव मूल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले विगतका महोत्सवभन्दा योपटक महोत्सवको आकर्षण थपिएको जानकारी दिए ।
उनले महोत्सवमा थारु संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी हुने जानकारी दिए ।
यो वर्ष महोत्सवको आकर्षणकोरुपमा थारु जतिको मुख्य खानाको परिकारमध्येको ‘घोङघी’ र ‘चिचर’को पाँच फिटको विशाल स्वरुप (मूर्ति) प्रदर्शनीमा राखिने जनाइएको छ ।
यस्तै, महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहारस्वरुप ‘पलङ’ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एकथान पल्पी जुस उपहारको व्यवस्था गरिएको छ ।
महोत्सवमा करिब २०० ओटा व्यावसायिक स्टलहरु रहनेछन् । अहिले स्टाल निर्माण र अरु तयारी अन्तिम चरणमा पुगेको प्रचार–प्रसार समितिका संयोजक कारी महतोले जानकारी दिए ।
महोत्सवको २ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको आर्थिक समितिका संयोजक सञ्जय चौधरीले जानकारी दिए ।
११ दिनसम्म चल्ने महोत्सवको भूमिसुधारमन्त्री गोपाल दहितले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
महोत्सवमा ११ दिन नै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्